काठमाडौं- बालुवाटार जग्गा प्रकरणमा मुछिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय एनआरएनएको स्वामित्वमा नामसारी हुनु अगावै शिलान्यास भइसकेको पुष्टि भएको छ।
एनआरएनएका प्रतिनिधि राजेश शम्शेर राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बयानमा उक्त जग्गा १२ करोड ७२ लाख रुपैयाँमा किनेको र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२ वैशाख ३१ को निर्णयअनुसार कार्यालयको भवनको रजिष्ट्रेसन दस्तुरसमेत छुट गरिएको बताएका छन्।
राणाकै बयानलाई आधार मान्दा उक्त जग्गा पास नहुँदै भवन शिलान्यास समेत भइसकेको देखिएको छ।
सरकारी निकायमा नामसारी, रजिस्ट्रेसनलगायत अन्य शुल्क नलिने निर्णय २०७२ वैशाख ३१ मा भएपनि त्यहाँ भवन बनाउने भन्दै शिलान्यास भने ४ महिना अगावै भइसकेको थियो। २०७१ साल फागुन २५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका थिए।
भवन निर्माण गर्नका लागि शिलान्यास भएको केही समयपछिमात्रै एनआरएनले रजिष्ट्रेसन प्रक्रिया अगाडि बढाएकोमा त्यहाँ शंका गर्ने ठाउँहरु पर्याप्त देखिन्छन्।
गैरआवासीय नेपाली संघका नाममा बालुवाटार स्थित ललिता निवास क्यापभित्र कित्ता नं ७४८, ७५२, ७४४, ७४६ र ७५० गरी पाँच कित्ता रहेका छन्। त्यही जग्गामा एनआरएनको केन्द्रीय कार्यालयको भवनसमेत बनेको छ। एनआरएनएका प्रतिनिधि राणाले अख्तियारलाई दिएको बयानमा उक्त जग्गा १२ करोड ७२ लाख रुपैयाँमा किनेको बताएका छन्।
बालुवाटारमा भवन निर्माण गर्नका लागि जग्गा खरिद गर्दा एनआरएनले विभिन्न देशमा रहेका नेपालीहरुसँग चन्दा उठाएको थियो।
राणाले दिएको बयानमा ती जग्गाहरु शोभाकान्त ढकाल तथा उनका परिवार र रामकुमार सुवेदी तथा उनका परिवारका नाममा रहेको र एनआरएनले उनीहरुबाटै किनेको बताएका छन्। यी दुवैजना बालुवाटार जग्गा प्रकरणका नाइके भुमाफिया हुन्।
प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले ४८ आना जग्गा एनआरएनले १२ करोड ७२ लाखमा खरिद गरेको देखिन्छ। गुठी संस्थान र भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गुठीको जग्गा व्यक्तिको नाममा सार्ने मन्त्रिपरिषदको निर्णय भएपछि एनआरएनले पनि बालुवाटारमा जग्गा किनेको देखिन्छ।
संघले जग्गा आफ्नो नाममा कायम गर्नुभन्दा अगाडि यी जग्गा सरकारी प्रकृतिका हुन् भन्ने जानकारी पाएपनि मोहि कायम भएपछि भने समस्या नहुने भन्दै जग्गा खरिद गरेको देखिन्छ। तर अख्तियारलाई राणाले दिएको बयानमा भने संघलाई त्यो विषयमा जानकारी नै नरहेको बताएका छन्।
एनआरएन तत्कालीन अध्यक्ष शेष घलेको संयोजकत्वमा विश्वभर छरिएर रहेका गैरआवाससीय नेपालीबाट रकम संकलन गरेर १२ करोड ७२ लाख रुपैयाँ लागतमा जग्गा किनिएको थियो। एनआरएनको वेभसाइटमा राखिएको उक्त भवनसम्बन्धी जानकारीअनुसार ५ रोपनी जग्गामा बनेको अत्याधुनिक भवन निर्माणका लागि २० करोड रुपैयाँ खर्च भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।