काठमाडौं- ललिता निवासको सरकारी जग्गालाई निजी बनाउन सबैभन्दा धेरै सक्रिय देखिएका शोभाकान्त ढकालले बालुवाटार क्षेत्रमा रहेको जग्गा बिक्री गर्न सुवर्ण शम्शेरका हकवाला आएपछि आफूले प्रक्रिया पूर्याएरै जग्गा खरिद गरेको दाबी गर्दै सरकारी जग्गा व्यक्तिलाई दिने विषयमा मन्त्रिपरिषद्लगायतका सरकारी निकायबाट भएका निर्णयमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयान :
ललिता निवास क्याम्पभित्रको जग्गा मैले मालपोत कार्यालयबाट विभिन्न मितिमा विभिन्न व्यक्ति तथा संस्थाबाट रजिष्ट्रेशन पास पारित गरी म र मेरा परिवारका नाममा लिएका जग्गा हुन्।
सुवर्ण शम्शेरका हकवालासँग मेरो २०५९/६० सालतिर मात्र भेटघाट भएको हो। मलाई यिनिहरुसँग युवराज कोइरालाले ललिता निवासको जग्गा बिक्रीमा छ म मिलाउँछु भनी भेटघाट गराएको हुँ। राणाहरुसँग मलगायत अन्य व्यक्तिहरुले उक्त क्षेत्रको जग्गा किन्ने कुरो भएको हुँदा हामीहरुले भेटी जग्गा किन्ने कुरो तय भएअनुसार राणाहरुको जग्गा हाल साविक भएपछि मालपोत कार्यालय डिल्लिबजारबाट मेरो श्रीमती उमा कुमारी लगायत अन्य व्यक्तिहरुले किनेको।
२०६० सालमा उमा कुमारीको जग्गा हाल साविक भएको हो। मिति २०४९ कात्तिक २५ र २०४९ पुस २३ निर्णयबाट फिर्ता भएको जग्गा फिर्ता ल्याउनेमा मेरो कुनै संलग्नता छैन।
मोहीहरुले मोही कायम गराउन उनीहरु कानुन व्यवसायीकहाँ गएका होलान् वा आफैं गएका होलान्। म कानुन व्यवसायी पनि हैन। मसँग आउने कुरा पनि भएन। जहाँ मोहीहरुको कुरा छ साविकका मोहीहरुले २०५७ सालमा जग्गा धनी प्रमाण पुर्जा पाएपछि निजहरुको काम गर्ने रामकुमारले जग्गा किन्नुहोस् भनेपछि हाम्रो घर परिवारमा सल्लाह गरी उक्त जग्गा उमा कुमारीको नाउमा मालपोत कार्यालयबाट रजिष्ट्रेसन पास पारित गरी लिएको हो।
टिकिन्छा गुठीका मोहीहरु मोहि कायम भएपछि उक्त जग्गा लिई दिनुहोस् भनेपछि प्रक्रिया पुरा गरी रजिष्ट्रेसन पास पारित लिएको छु। बालुवाटारस्थित विशिष्ट व्यक्तिहरुको सरकारी निवास भवन विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रीपरिषद्देखि सम्बन्धित निकायहरुले गरेको देखिन्छ। यस्तो निर्णय प्रक्रियामा मेरो संलग्न हुने विषय हुनै सक्दैन। यी निर्णयहरु माथिल्लो निकाय हुँदै कार्यान्वयन तहसम्म भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।