काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुगेका विषयमा आफू जिम्मेवार नभएको बयान दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएको बयानका क्रममा तत्कालीन प्रधानमन्त्री नेपालले आफूले सरकारी निवास सुदृढीकरणमा मात्र चासो राखेर मन्त्रिपरिषद् आएको प्रस्तावमात्र पारित गरेको बयान दिएका हुन्।
नेपाल लाइभले प्राप्त गरेको उनको बयानमा उनले भनेका छन्, 'नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस गरिएका प्रस्तावसम्बन्धी आवश्यक प्रमाण र अभिलेख, कागजात हेर्ने, यकिन गर्ने, उक्त प्रस्ताव कानुनसम्मत र रितपूर्वक छ, छैन हेरी जाँची यकिन गर्ने जिम्मेवारी र दायित्व सम्बन्धित मन्त्रालय सम्बद्ध कर्मचारी/पदाधीकारीहरूको हो।'
नेपालले अख्तियारमा दिएको बयान
म नेपाल सरकारको प्रधामन्त्रीका रुपमा २०६६ जेठदेखि २०६७ फागुनसम्म पदभार सम्हालेर बसेको थिएँ। बालुवाटारस्थित विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा तयार पारिएको गुरुयोजनाबाट प्रधानमन्त्री निवासको दक्षिणतर्फ पनि सरकारी जग्गा रहेको जानकारी भयो। त्यसपछि गुरुयोजनाअनुसार भवन निर्माणको कार्य अगाडि बढाइ छिटो काम सम्पन्न गर्नका लागि सम्बन्धित कर्मचारीहरालई मैले पटक-पटक भनेको हुँ।
मैले गुरुयोजनाअनुसार विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा भवन निर्माण कार्य चाँडो सम्पन्न गर्नका लागि चासो देखाएको र कुनै पनि काम सुरु गरेपछि समयमा समयमा र छिटो सम्पन्न गर्नुपर्दछ भन्ने मान्यता पनि राख्दछु। सोही बमोजिम मैले चाँडो काम सम्पन्न गर्नका लागि चासो देखाएको हुँ।
सरकारी सार्वजनिक जग्गामा मोही हुने नहुने विषयमा छलफल नै भएको थिएन, मलाई जानकारी भएन। नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गरिएका प्रस्ताव सम्बन्धी आवश्यक प्रमाण र अभिलेख, कागजात हेर्ने, यकिन गर्ने, उक्त प्रस्ताव कानुनसम्मत र रितपूर्वक छ, छैन हेरी जाँची यकिन गर्ने जिम्मेवारी र दायित्व सम्बन्धित मन्त्रालय सम्बद्ध कर्मचारी/पदाधीकारीहरुको हो।
मैले बालुवाटारस्थित विशिष्ट व्यक्तिहरुको सरकारी निवासको सुदृढीकरण र विस्तार सम्बन्धी गुरुयोजनाअनुसार विशिष्ट व्यक्तिहरुको निवास फराकिलो बनाउनका लागि गुरुयोजना कार्यान्वयनका लागि मेरो नेपाल सरकार, मन्त्रिपरिषदबाट निर्णय भएको हो। सरकारी सार्वजनिक जग्गामा मोही कायम गर्ने, सट्टापट्टा दिने कार्यमा मेरो निर्देशन थिएन। मैले भवन निर्माण सम्बन्धमा मात्र चासो राखेको हो, जग्गा जमिनको सम्बन्धमा मेरो चासो होइन र थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।