काठमाडौं ललिता निवास जग्गा प्रकरणमा सबैभन्दा बढी बिगो भूमाफिया रामकुमार सुवेदीलाई तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध ५२ करोड ५१ लाख ४० हजार बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो।
उनीपछि धेरै बिगो मागदाबी भूमाफिया शोभाकान्त ढकाल र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट गरिएको छ। दुवैबाट ३९ करोड २७ लाख ६८ हजार बिगो मागदाबी गरिएको छ।
उनीहरुलाई राष्ट्रसेवक कर्मचारीलाई समेत अनुचित प्रभावमा पारेर ललिता निवासभित्रको सरकारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा दिने/दिलाउने, सरकारी जग्गा व्यक्ति विशेषका नाममा हालसाविक गर्ने र गराउने, सार्वजनिक जग्गामा कृत्रिम रुपमा अनाधिकृत व्यक्तिलाई मोही खडा गर्ने/गराउने, बालुवाटारभित्रको विशिष्ठ व्यक्ति निवासभित्रको जग्गा व्यक्तिका नाममा गर्ने/गराउनेलगायतका आरोप लगाइएको छ।
उनीहरु यस्ता काममा आफैं प्रत्यक्ष संलग्न भएको पाइएको उल्लेख गर्दै बदनियतपूर्वक ललिता निवास क्याम्पभित्रको अधिकांश जग्गा आफ्नो, परिवारको र आफैं संलग्न कम्पनीको नाममा गरेर लाभ लिइएको आरोप पत्रमा उल्लेख गरिएको छ।
उनीहरुले गैह्रकानुनी लाभ लिनुका साथै नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएका कारण उक्त बिगो भराउने निर्णयसहित भ्रष्टाचारी करार गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।