काठमाडौं- एक साताको अवधिमा बैंकिङ तरलता दोब्बरले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु गत माघ १५ गते ३२ अर्ब ८० करोड रुपैयाँको तरलता बढेर ३२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।
माघ १५ गते बैंकिङ तरलता १६ अर्ब ६० करोड रुपैयाँ थियो।
तर साउनमा ७९ अर्ब ९० करोड रुपैयाँको तरलता बिस्तारै घटेर १६ अर्ब ६० करोड रुपैयाँमा झरेको हो। साउनमा सरकारले विकास खर्च तथा अन्य खर्चहरुको निकासा गर्दा बैंकिङ प्रणालीमा तरलता सिर्जना भएको थियो। तर साउनयता बैंकहरु कर्जा प्रवाहमा आक्रामक हुँदा बिस्तारै तरलता कम हुँदै आएको थियो।
यदि सरकारले विकास खर्च बढाउँदै लैजाने हो भने आगामी दिनमा बैंकिङ प्रणालीमा तरलता सिर्जना हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए। सरकारले ठुला ठुला आयोजनाको निर्माण कार्यलाई गति प्रदान नगरेसम्म अर्थतन्त्र चलायमान नहुने उनको तर्क छ।
यदि ठुला ठुला पुर्वाधारको निर्माण कार्यले गति लिन थाल्यो भने निर्माण व्यवसायीले वर्किङ क्यापिटलका लागि कर्जा लिनेछन् भने ज्यामीले तलब सुविधा पाउन थाल्नेछन्। यसले गर्दा बैंकिङ प्राणलीमा थप तरलता सिर्जना हुनेछ। तर अहिलेको अवस्थामा कुनै पनि ठुला आयोजनाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्न सकेको छैन।
तर बैंकिङ प्राणलीमा तरलता बढ्दै गएको भन्दै बैंकहरु कर्जाको सिमा बढाउन माग राख्दै आएका छन्।
तरलता बिस्तारै सहज हुँदै गएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा देखिन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार कर्जाको ब्याजदरसँगै आधार ब्याजदर पनि घट्न थालेको हो।
मंसिरसम्ममा बैंकहरुको औसत आधार ब्याजदर ९.४६ प्रतिशतमा झरेको छ। २०७५ असारमा दोहोरो अंकको आधार ब्याजदर थियो। २०७५ असारमा आधार ब्याजदर १०.४७ प्रतिशत थियो।
त्यस्तै कर्जाको ब्याजदर डेढ वर्ष अगाडि १२.७४ प्रतिशत थियो। यस्तो ब्याजदर घट्ने क्रममा ११.९३ प्रतिशतमा झरेको छ। तर निक्षेपको ब्याजदर भने औसतमा केहि बढेको छ।
निक्षेपको ब्याजदर मूल्य वृद्धिभन्दा कम हुन नहुने मान्यता राखिन्छ। निक्षेपको ब्याजदर लगातार बढिरहँदा कर्जाको ब्याजदर भने क्रमिक रुपमा घटिरहेको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।