काठमाडौं- कोरोना भाइरसको महामारीको चपेटामा परेको चीनको वुहानका नेपालीको उद्धारबारे काठमाडौंस्थित चिनियाँ दूतावासले चासो देखाएको छ। दूतावासले भनेको छ, ‘चीनबाट नेपाली फिर्ता ल्याउनुअघि आवश्यक तयारी पूरा गरियोस्।’
नेपालीस्थित चिनियाँ राजदूत होउ यान्छीका नाममा दूतावासले उपलब्ध गराएको ‘प्रेस नोट’मा नेपालीहरूलाई काठमाडौं विमानस्थल झार्नुअघि विमानस्थलमा क्वारेन्टाइन तथा विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधिबाट महामारी फैलिन नदिने उपायका विषयमा सल्लाह लिन सुझाव दिइएको छ।
चीनको वुहानमा रहेका नेपालीहरूले फैलँदो कोरोना भाइरसको सन्त्रासका कारण नेपाल फर्कने इच्छा जाहेर गरेपछि नेपाल सरकारले पनि यसको तयारी भइरहेको जानकारी दिएको छ।
बेइजिङस्थित नेपाली दूतावासको आग्रहअनुसार एक सय ८० विद्यार्थीले नेपाल फर्किन आवेदन दिएपछि नेपालले विमान पठाएर उनीहरुलाई नेपाल ल्याउने तयारी गरिरहेको हो।
‘नेपाली पक्षले आफ्ना नागरिक उद्धारको तयारी गरिरहँदा महामारी रोकथाम र नियन्त्रणको तयारीबारे हाम्रो स्वभाविक ध्यान यतातिर छ,’ राजदूत यान्छीलाई उद्धृत गर्दै नोटमा भनिएको छ, ‘हामी महामारी रोकथाम र नियन्त्रणमा सरोकार राख्ने सबैसँग नियमित सम्पर्कमा छौं।’
कोरोना भाइरसको महामारी फैलिएपछि नेपालस्थित चिनियाँ दूतावास, काठमाडौंस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण केन्द्र, परराष्ट्र मन्त्रालय र नेपालका अन्य सम्बन्धित विभागसँग सम्पर्कमा रहेको बताइएको हो।
दूतावासले नेपाली पक्षले विमानस्थलमा सुपरीवेक्षण तथा क्वारेन्टाइन सुविधा स्थापना गरेको, केही अस्पतालमा आइसोलेसनका लागि छुट्टै ठाउँ व्यवस्था गरेको र काठमाडौं उपत्यका, चितवन जिल्ला तथा अन्य स्थानमा कोरोना भाइरसका संदिग्घहरूको उपचार गर्ने तयारीबारे थाहा पाउँदा आफू खुशी भएको समेत बताएको छ।
महामारी रोक्नु सबैको दायित्व र जिम्मेवारी रहेको स्मरण गराउँदै चीनियाँ दूतावासले भनेको छ, ‘नेपाल सरकारले वुहानमा रहेका नेपालीलाई उद्धार गर्ने तयारी गरेको जानकारी हामीले पाएका छौं। चिनियाँ पक्षले यो मागलाई धेरै महत्व दिएको छ र कुटनीतिक च्यानलबाट यस विषयमा जानकारी गराएको छ।’
महामारी फैलिनबाट रोकथाम गर्नका लागि चीन सरकारले चिनियाँ ट्राभल एजेन्सीहरुलाई जनवरी २६ यता कुनै पर्यटक समूह विदेश पठाउनबाट रोकिसकेको छ।
त्यसैगरी, कोरोना भारसको महामारी नफैलियोस् भनेर नै चीनले केरुङ–रसुवागढी नाका र तातोपानी–खासा नाकाको अवस्था हेरेर महामारी रोकथामका लगि आवश्यक कदम चाल्न आवश्यक अनुगमनको तयारीबारे पनि नेपाललाई जानकारी दिइसकेको छ। (तस्बिर : नेपालस्थित चिनियाँ दूतावास)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।