काठमाडौं- अवकाश हुनु दुई दिनअघि अर्थात् आइतबार भेटका लागि सम्पर्क गर्दा अर्थ मन्त्रालयका सचिव डा राजन खनालले जवाफ दिए, 'आज एउटा प्रतिवेदन सक्नुपर्नेछ, त्यसैको काममा छु। भोलि भेटौँ है।'
२२ महिना अर्थसचिव भएर मंगलबार बिदा हुन लागेका खनाल सोमबार दिउँसोसम्म पनि उस्तै कार्यबोझले थिचिएका थिए। सहकर्मी र साथीभाइ सन्तुष्ट थिएनन् कारण थियो, सधैंको व्यस्तता। 'बिरामी हुँदाबाहेक अरू समयमा त्यसरी बिदा बस्ने भन्ने नै भएन,' खनालले करिब मन्त्रालयमा बिताएको २ वर्षे कार्यकाल सम्झँदै भने।
.JPG)
अर्थ मन्त्रालय फर्किएपछिको उनको दैनिकी उस्तै रुटिनमा बित्यो। अर्थात्, बिहान साढे ८ बजे घरबाट मन्त्रालय निस्कने र राति साढे ८ बजेपछि मात्रै घर पुग्ने। मन्त्रालयको दैनिक कामका अतिरिक्त नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य हुने भएकाले त्यसमा सक्रियतापूर्वक सहभागी हुनुपर्छ।
दातृ निकाय तथा विकास साझेदारका प्रतिनिधिसँग भेट गर्नुपर्छ र विश्वविद्यालयको सिनेट सदस्यका रुपमा काम गर्नुपर्छ। कार्यबोझ धेरै हुने भएकाले अर्थसचिव हुने व्यक्ति कार्यालयको काममा अधिकतम समय खट्न सक्ने व्यक्ति हुनुपर्ने उनको बुझाइ छ।
-000-
वित्तीय अनुशासन, स्रोत व्यवस्थापन र स्रोतको सही परिचालनका लागि अर्थसचिवले नियन्त्रकको भूमिका खेलेको हुन्छ।
'यो एउटा तातो कुर्सी हो, कतै आगलागी भयो, बाढी गयो भने मुलुक शोकमा डुब्छ। अर्थसचिवलाई चिन्ता थपिन्छ, राहत र अनुदानका लागि स्रोत कहाँबाट व्यवस्थापन गर्ने भनेर,' उनी भन्छन्, 'कतै राम्रो उपलब्धि हासिल भयो, राजनीतिक व्यक्तिहरू ठूलो रकम पुरस्कार दिने घोषणा गरिदिनुहुन्छ। फेरि खुशीमै तनाव थपिन्छ, त्यसका लागि पैसा कहाँबाट ल्याउने?'
-000-
क्याम्पस पढ्न थालेदेखि सरकारी सेवाको मोह खनालमा पसेको थियो। २०२४ सालमा काभ्रेपलाञ्चोकमा जन्मिएका खनालले २० वर्ष नपुग्दै सरकारी जागिरमा नाम निकालेका थिए। तर, मुखियाको पहिलो पोस्टिङ रसुवामा भयो। टाढा र विकटसमेत भएकाले पढाइ बिग्रने डरले उनलाई त्यहाँ मन लागेन, जागिर खाएनन्।
मुखियाको जागिर छोडेर बसेका खनालले त्यसपछि कालिगण्डकी जलविद्युत आयोजनामा केही समय जागिर खाए। कालिगण्डकीमै काम गर्दागर्दै नायब सुब्बामा नाम निस्कियो। जनस्वास्थ्य कार्यालय रौतहटमा उनको पोस्टिङ हुने भयो, तालिम चलिरहेको थियो। त्यति नै बेला तत्कालीन हुलाक सेवामा शाखा अधिकृतमा खनालले नाम निकाले। जनस्वास्थ्यको जागिर वैकल्पिक उम्मेद्वारलाई सुम्पिएर हुलाक अधिकृतको नियुक्ति लिँदै जागिर खान नुवाकोट पुगे।
हुलाक सेवामा त्यतिबेला ५३ जना अधिकृतले नाम निकालेका थिए। तीमध्येका तीन जना लगातार अर्थसचिव भए।
.JPG)
डा शान्तराज सुवेदीले अर्थसचिवकै कुर्सीबाट अवकाश लिए भने उनीपछिका शंकर अधिकारी पनि केही समय अर्थसचिव बने। खनालबाहेक डा बैकुण्ठ अर्याल, महेन्द्र गुरागाँई र केवलप्रसाद भण्डारी अहिले नेपाल सरकारकै सचिवका रूपमा काम गरिरहेका छन्।
हुलाकमा ६ वर्ष अधिकृत भएपछि उपचसिवको एउटा सिटका लागि विज्ञापन भयो। त्यो परीक्षामा उनै अब्बल देखिए। हुलाकमा उपसचिव भएपछि उनको 'मुड' परिवर्तन भयो। त्यतिबेला एउटै तहका लागि लोकसेवा परीक्षा दिन पाउने व्यवस्था थियो, हुलाकमा उपसचिव भएको ६ वर्षपछि उनी प्रशासनको उपसचिव भिडे।
प्रशासनमा उपसचिव भएको दुई महिनामै सहसचिवको लिखित परीक्षामा पास भए। तर अन्तर्वार्ता सफल हुन सकेन। लगातार तीन पटक अन्तर्वार्तामा सफल नभएपछि उनले चौथो पटकमा सहसचिव पास गरे। तर चार महिनासम्म कतै पोस्टिङ भएन। सहसचिव हुने बित्तिकै शिक्षा मन्त्रालय जाने रहर थियो। तर जाँच पास भएको चौथो महिनामा खनालको 'सरप्राइज पोस्टिङ' भयो अर्थ मन्त्रालयमा।
-000-
त्यसअघि कहिले पनि अर्थ मन्त्रालयमा काम नगरेका उनी अर्का सहसचिव बालगोविन्द बिष्टसँगै अर्थ मन्त्रालय पुगेका थिए। अर्थ मन्त्रालय पुगेपछि तत्कालीन सचिव भानु आचार्यले उनलाई सोधे, 'कनिष्ठ सहसचिवहरू कार्यालय विभाग जानुपर्छ, यहाँ मन्त्रालय आउन त लामो समय लाग्छ, कहाँ जान्छौ?'
अर्थसचिवको प्रश्नपछि खनाल अवाक् भए। अर्थसचिव आचार्यलाई उनले जवाफ दिए, कार्यालय जानुपर्ने भए त म फर्किन्छु। अर्थ मन्त्रालयकै सहसचिवहरू केदारबहादुर अधिकारी र बोधराज निरौलालाई बाहिर पठाएर खनाललाई अर्थ पठाइएको थियो।
.JPG)
कार्यालय त के विभाग पनि उनलाई जान मन थिएन। तर भन्सार विभागका महानिर्देशक बालगोविन्द विष्टले उपमहानिर्देशकका रूपमा खनाललाई रोजे। उनी भन्सार विभाग पुगे। 'महानिर्देशकको अवकाशपछि म केही समय निमित्त महानिर्देशक पनि भएँ, तर त्यतिबेला अर्थ मन्त्रालयसँग नै मेरो असहमति भयो र यहाँबाट बाहिरिएँ,' उनी सम्झन्छन्।
अर्थ मन्त्रालयमा राजस्व समूहबाट हुर्किएका कर्मचारीको बाहुल्यता छ। त्यसका अतिरिक्त उनीहरूकै एउटा जालोले अर्थ मन्त्रालय चलाउँछ। तर यो भीडमा राजन खनाल नौलो अनुहार थिए। त्यसमा 'एड्जस्ट' हुन उनलाई पनि कठिन नै परेको थियो। 'अर्थ मन्त्रालय आउने भनेका लोकसेवामा उच्च अंक ल्याएकाहरु हुन्थे वा धेरै अनुरोध गरेपछि आइपुग्थ्यो, मलाई पनि सुरुमा यो प्रणालीमा केही संघर्ष नै गर्नुपर्यो,' उनी विगत सम्झन्छन्।
खनाल शिक्षा मन्त्रालय फर्किए। उपचसिव हुँदा पनि त्यहीँ काम गरेकाले उनलाई शिक्षा नै प्यारो लाग्यो। शिक्षा मन्त्रालयमा २१ महिना काम गरेपछि उनको सरूवा जलस्रोत मन्त्रालयमा भयो। तर, बीचमै मन्त्रालय फुटेपछि ऊर्जा रोज्ने कि सिँचाई भन्नेमा उनी अन्यौलमै थिए।
यही बीचमा एकदिन उनको भेट तत्कालीन अर्थसचिव रामेश्वरप्रसाद खनालसँग भयो। खनालले 'अर्थ मन्त्रालय बसेर फर्केको मान्छे अब किन ऊर्जा र सिँचाई भन्नु, अर्थ मन्त्रालय आउनुस्' भने। खनालको प्रस्ताव उनलाई राम्रै लाग्यो तर उनी फेरि झस्किए, अब पनि कार्यालय पठाउने हो कि?
.JPG)
अर्थसचिवले उनलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिन्छु भने। त्यसलगत्तै तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेट पनि भयो। पाण्डेसँग कुरा गरेर फर्केपछि उनी फेरि चुपचाप बसे। एकदिन अर्थसचिव खनालले फेरि उनलाई सोधे- खै त सरूवा लिएर आएको?
खनालले अर्थसचिवलाई आफ्नो र अर्थमन्त्रीको भेटबारे सविस्तार बताए। त्यसपछि अर्थसचिवले उनलाई भने, 'तपाईं ढुक्क हुनुस्। म मुख्यसचिवसँग कुरा गर्छु, अब यहाँ आउनुपर्छ।' दुई वर्षभन्दा धेरै समय बाहिर बसेपछि उनी फेरि अर्थ मन्त्रालय आए। तत्कालीन सचिव भोजराज घिमिरेले उनको काज सरुवा जलस्रोतबाट अर्थमा गरिदिए। अर्थकै शक्तिशाली र आकर्षक मानिने बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख बने। आर्थिक वर्ष २०६६/०६७ को बजेट लेखे।
तर यहीबीचमा एउटा घटना बाहिर आयो। आन्तरिक राजस्व कार्यालय क्षेत्र नं २ बाट फाइल हरायो। फाइल हराएको विषयमा हल्लाखल्ला मच्चिएपछि मन्त्री पाण्डेले सबै सहसचिवहरूलाई बोलाएर भने- अब सबैको एकैपटक सरूवा गरिदिन्छु। मन्त्रीले त्यसो भनेको केही दिनमै अर्थका सहसचिवहरूको जिम्मेवारी फेरियो, खनाले बने आन्तरिक राजस्व विभागको महानिर्देशक।
भन्सार विभागमा उपमहानिर्देशक भएको बाहेक उनीसँग करमा काम गरेको अनुभव थिएन। तर जटिल जिम्मेवारी आएपछि खनालले फेरि अर्थसचिव खनाललाई भने, 'बाहिरै पठाउने भए किन अर्थ मन्त्रालयमा फर्काउनु भएको?' उनको प्रश्नपछि अर्थसचिव खनालले सबै कुरा मिलेपछि ३ महिनामा मन्त्रालय फर्काउने आश्वासन दिए। तत्कालीन सचिव खनालले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक नवराज भण्डारीलाई भन्सारको महानिर्देशक बनाए भने बजेटबाट खनाललाई करमा पुर्याए।
.JPG)
'भन्सार भन्दा जटिल थियो करको जिम्मेवारी। मैले त्यहाँ बस्दा धेरै अध्ययन गरेँ, स्वअध्यनले नै मलाई यहाँसम्म ल्याए जस्तो लाग्छ,' खनाल भन्छन्, 'हाम्रै कार्यकालमा हो, ठूलो छानबिन भएको, करसँग सम्बन्धित धेरै विषयमा समस्या छ भन्ने भएपछि हामीले विशेष टोली नै बनाएर अनुसन्धान गर्यौँ,' उनले भने, 'त्यो निकै सफल पनि भयो, हाम्रो अनुसन्धानले धेरै कुरा बाहिर ल्यायो।'
मूल्य अभिवृद्धि करको नक्कली बिजकमाथिको त्यो अनुसन्धान आन्तरिक राजस्व विभागले गरेको अहिलेसम्मकै ठूलो अनुसन्धान र कारबाही थियो। तर बीचमा सरकार परिवर्तन भयो। मन्त्री पाण्डे मन्त्रालयबाट बाहिरिए भने केही समयलगत्तै सचिव खनालले राजीनामा दिए। आफूलाई भरोसा दिएका दुवै जना बाहिरिएपछि खनाल निकै दबाबमा आए। 'एकातिर राजनीतिक नेतृत्व परिवर्तन भएको थियो। अर्कोतर्फ सचिवले राजीनामा दिएर हिँडेपछि हामीलाई निकै गाह्रो भयो,' उनी भन्छन्, 'व्यावसायिक क्षेत्रबाट पनि दबाब थियो, हामीले त्यही दबाबकाबीच सुधारका लागि थोरै भएपनि योगदान गर्न सकियो।'
नक्कली भ्याट बिलको यो छानबिन प्रकरणका केही मुद्दामा सर्वोच्च अदालतले केही दिनअघि सरकारलाई जिताइदियो। अर्थात् खनालको नेतृत्वमा त्यतिबेला भएको अनुसन्धानको कानुनी सर्वोच्चता अदालतले पनि स्थापित गरिदियो। 'त्यतिबेला निकै जटिल थियो, त्यो अनुसन्धान,' उनी अहिले सम्झछन्।
आन्तरिक राजस्व विभागबाट उनलाई अर्थ मन्त्रालय फर्काइयो। करको महानिर्देशकलाई मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको भनेर तत्कालीन मन्त्री वर्षमान पुनको आलोचना भयो। मन्त्री पुनले सहसचिवको रोजाइमै जिम्मेवारी दिइएको सार्वजनिक अभिव्यक्ति नै दिए।
शान्तराज सुवेदी अर्थसचिव भएपछि उनलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइयो। सहसचिव हुँदा शिक्षा, जलस्रोत र अर्थ मन्त्रालयको विभिन्न जिम्मेवारीमा बसेका खनालको त्यहीँबाट सचिवमा बढुवा भयो।
.JPG)
अर्थकै दुईजना सहसचिवहरु खनाल र नवराज भण्डारीको सचिवमा बढुवा भएको थियो। तत्कालीन अर्थम्नत्री डा रामशरण महतले भण्डारीलाई राजस्व सचिव बनाए, खनाल सामान्य प्रशासन मन्त्रालय पुगे। तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी/पिआर भएका कर्मचारीमाथि कैँची चलाउने अभियान थाले। मन्त्री पण्डितले यसलाई एजेन्डाकै रुपमा अघि बढाउन थालेपछि राजस्व सचिव भण्डारी सुटुक्क अमेरिका लागे।
भण्डारीको अमेरिका उडानले मन्त्री महतलाई ठूलो झट्का थियो। एक त आफूले विश्वास गरेर सचिव बनाएको व्यक्ति हिँडेको। दोस्रो आफूलाई नसोधी विदेश उडेको। भण्डारी बाहिरिएपछि महत पनि अफ्ठेरोमा थिए। प्राविधिक पृष्ठभूमिबाट आएका सुमन शर्मा अर्थसचिव थिए, राजस्व सचिव रिक्त हुँदा मन्त्रीलाई काम गर्न अफ्ठेरो पर्ने परिस्थित बन्यो।
कामकै सिलसिलामा एकदिन सामान्य प्रशासन मन्त्रालयबाट फाइल लिएर खनाल अर्थमन्त्री महतलाई भेट्न गए। काम सकिएपछि महतले भने, तपाईंलाई अफ्ठेरो लाग्दैन भने अब अर्थ मन्त्रालयमा आएर राजस्व सचिव बन्नुस्। डिभी/पिआरका विषयमा मन्त्री महत र पण्डितबीच सार्वजनिक रुपमै एक/अर्का विरुद्ध टिप्पणी चलिरहेको बेला खनाल अलि हच्किए। तर महतले उनलाई 'कन्भिन्स' गरे र अर्थ भित्र्याए।
राजस्व सचिवका रूपमा उनी दुई वर्ष अर्थ मन्त्रालय बसे। त्यही बीचमा सरकार परिवर्तन भयो। अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आए। अर्थसचिव भए हालका मुख्य सचिव लोकदर्शन रेग्मी। सरकार ९/९ महिनामा परिवर्तन भइरह्यो। शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका बेला एउटा फाइलमा मन्त्री र सचिवबीच गम्भीर अहसमति भयो।
.JPG)
खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव बने। अर्थबाट बाहिरिएपछि उनी फर्कने 'मुड'मा थिएनन्। न यसका लागि कतै भन्दै पनि हिँडेका थिए। तर एक्कासी उनको सरुवा अर्थ मन्त्रालयमा भयो।
'वास्तवमा न मैले कतै अर्थसचिवका लागि भनेको थिएँ, न मलाई सोधिएको नै थियो,' उनले भने, 'अर्थमा सरुवा भएको भोलिपल्ट मैले मन्त्रीलाई फोन गरेँ, उहाँले ल राम्रै भएछ भन्नुभयो।'
-000-
मुलुकको अर्थतन्त्रको 'ड्राइभिङ सिट'मा बसेका खनालले योबीचमा वित्तीय संघीयता कार्यान्वयनको महत्वूर्ण र जटिल जिम्मेवारीको नेतृत्व गरे। केही अघि नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय संघीयताको सफल व्यवस्थापनका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै खनालको निकै प्रशंसा पनि गरेका थिए।
'हामीले वित्तीय संघीयताको चुनौतीपूर्ण व्यवस्थापन गरेका छौँ, यसमा अब हामीले ध्यान दिनुपर्ने भनेको वित्तीय अनुशासन मात्रै हो,' खनाल भन्छन्, 'स्रोतको व्यवस्थापन, बाँडफाँट, सञ्चित कोषको स्थापना र प्रणालीको विकास भइसकेको छ।'
अर्थ मन्त्रालयले थालेको सुधारको कामको सारथी बन्न पाएकोमा खनाल अहिले खुशी छन्। 'कर प्रशासनमा सुधार भयो, भन्सारलाई स्वचालित बनाउन सकियो,' उनी भन्छन्, 'संसारका धेरै देशमा वित्तीय संघीयताको व्यवस्थापन सहज नहुँदा द्वन्द्व निम्तिएका छन्, हामीले कुशलतापूर्वक व्यवस्थापन गर्यौँ, यो नै अहिलेको ठूलो उपलब्धि हो।'
-000-
मानविकी र जनप्रशासनमा स्नातकोत्तर गरेका खनालले यही बीचमा कर प्रणालीमै विद्यावारिधि हासिल गरे। अर्थतन्त्र, राजस्व, बजेट प्रणाली र अन्तर्राष्ट्रिय व्यापारका विषयमा चासो राख्ने खनाल मुलुकको राजनीतिक अस्थिरताले विकास र आर्थिक कृयाकलाप दुवै प्रभावित पारेको बताउँछन्। 'हामी लामो राजनीतिक संक्रमणमा फस्यौँ, कहिले युद्धका नाममा त कहिले अरु कुराले विकासलाई सधैँ ओझेलमा पार्यो,' उनी भन्छन्, 'यसले हाम्रो आर्थिक विकासको गतिलाई निकै पछाडि पुर्यायो, जुन असाध्यै दु:खद हो।'
.JPG)
राजस्व प्रशासनदेखि बजेट खर्चको प्रक्रियासम्ममा भएको सुधारमा काम अघि बढे पनि राजनीतिक नेतृत्वले अर्थतन्त्र सञ्चालनमा गम्भीरता नदेखाउँदा कहिलेँकी समस्या पर्ने गरेको उनको बुझाइ छ। 'राजनीतिक नेतृत्वले प्रशासनलाई सहजरुपमा नेतृत्व प्रदान गरेर सञ्चालन गर्न सकेको छैन, हाम्रोमा खट्किएको यही हो,' उनी भन्छन्, 'यस्तो अवस्थामा प्रशासन संयन्त्रबाट मात्रै मन्त्रालय चलाउन खोज्दा गतिशतील हुन सकिँदैन, सिमितताबीच रहनुपर्छ।'
संघीयता कार्यान्वयनको नेपालबाट धेरै नेता र कर्मचारी विदेश गए। सयौँको संख्यामा त्यसरी मान्छे बाहिरिए। खनालले यसमा कहिल्यै लोभ गरेनन्। विदेश भ्रमण वा अन्य लाभको मोह नराखी काम गरेका खनाल निजामती प्रशासनलाई यस्ता विषयले केही प्रभावित बनाएको भने स्वीकार गर्छन्।
अर्थसचिवका रुपमा दुई वर्ष बस्दा उनी धेरै प्रचारमा आएनन्। आमसञ्चारका माध्यमले केही पछ्याए पनि उनले त्यसलाई अस्वीकार नै गरिरहे। 'नक्कली भ्याट बिलको सन्दर्भमा पनि कुराकानी गरौँ भनेर साथीहरुले भनिरहनु भयो तर मलाई के लाग्छ भने हामीले कर्तव्यपालना मात्रै गरेका हौँ, त्यसकारण धेरै प्रचार गर्नु आवश्यक ठान्दिनँ,' खनाल भन्छन्।
बीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव भएपछि उनी मिडियासँग झनै टाढा भए। अख्तियारको कामको चरित्र नै फरक भएकाले खनाल मिडियाबाट टाढा भएका थिए।
000
अर्थ मन्त्रालयमा दुई जना सचिव हुन्छन्। दुईमध्ये वरिष्ठले अर्थसचिव र कनिष्ठले राजस्व सचिव भएर काम गर्छन्। खनालले करिब बराबर समय दुवै पदमा बिताए। फरक यति थियो, उनी राजस्व सचिव हुँदा ४ जना मन्त्रीसँग काम गर्नुपर्यो, अर्थसचिव हुँदा एकजना मात्रै।
खनालले दुई अनुभवी अर्थशास्त्रीहरू डा रामशरण महत र डा युवराज खतिवडासहित विष्णु पौडेल, कृष्णबहादुर महरा र ज्ञानेन्द्रबहादुर कार्कीसँग काम गरे। उनको बुझाइमा अर्थमन्त्री बन्ने व्यक्तिसँग दुईवटा विशेषता हुनुपर्छ, पहिलो अर्थतन्त्र कसरी सञ्चालन गर्ने स्पष्ट दृष्टिकोण र दोस्रो आफ्नो राजनीतिक दलभित्र बलियो पडक राख्न सक्ने। 'मन्त्री र सचिव भनेका साथी जस्तै हुन्, उनीहरुबीच सहज सम्बन्ध भयो भने मन्त्रालय राम्रोसँग सञ्चालन गर्न सकिन्छ,' उनको बुझाइ छ।
.JPG)
अहिले मुलुक संघीयतामा गएको छ। संघीयता खर्चिलो व्यवस्था भएकाले स्रोत व्यवस्थापन नै मुख्य चुनौती हो। लामो समय एकात्मक प्रणालीबाट सञ्चालन भएको मुलुक संघीय संरचनामा जाँदा अधिकार छोड्न केन्द्रलाई गाह्रो भयो, अधिकार नपाइएको आवाज तलबाट आयो। 'वास्तवमा अब संघीय सरकार अर्थ मन्त्रालयको भूमिका न्यूट्रल हुनुपर्ने हो, स्रोत साधन तल्ला तहमा दिने र माथिबाट समन्वय गर्ने भूमिका हुनुपर्नेमा अझै त्यसो हुन सकेको छैन,' उनले भने।
000
निजामती सेवामा सबैभन्दा आकर्षक पद मानिन्छ अर्थसचिव। राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्धदेखि मुलुकको ढुकुटी सञ्चालनको जिम्मेवारी पाइने भएकाले धेरै विशिष्ट श्रेणीमा पुगेपछि धेरैले यही निकायमा काम गर्न खोज्छन्। जसका जस र अपजस दुवै छन्।
'यो कुर्सीका कारण धेरै मानिस मसँग रिसाएका छन्, मैले उहाँहरु राजन खनालसँग होइन कि अर्थसचिवसँग रिसाएको रुपमा बुझेको छु,' उनले भने, 'हाम्रो दायित्व नै त्यही हो। हुने कुरालाई ठीक र नहुने कुरालाई बेठीक भन्न सक्नुपर्छ, भनेको छु।'
अर्थमन्त्री र अर्थसचिवबीच धेरै विषयमा विमति रहेको अनुभव खनालसँगै छ। मन्त्रीले सचिवका राय उल्ट्याएका धेरै उदाहरण छन्। तर, कालान्तरमा आफ्नै राय सही ठहर भएको अनुभव लिएर उनी बसेका छन्।
.JPG)
अर्थ मन्त्रालयबाट अवकाश पाएकाहरू दातृ निकायमा जागिर खान पुगेका छन्। खनाल यो मामिलामा अलि प्रष्ट छन्। दातृ निकायमा जागिर खाने उनको रहर छैन। खनालको यसअघि नै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सिफारिसको चर्चा चलेको थियो। तर संवैधानिक परिषदको बैठक नबसेका कारण त्यतिबेला यो विषय टर्यो।
'मैले जानेको ठाउँमा सरकारले सम्झियो भने सहयोग गर्छु,' उनी भन्छन्, 'हामी अवकाशप्राप्त कर्मचारी भनेका पनि राष्ट्रसेवक नै हौँ, हामीले सकेको क्षेत्रबाट काम गर्न सक्नुपर्छ।'
पछिल्लो केही समययता खनालको चर्चा नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा पनि भइरहेको छ। चैत पहिलो साता रिक्त हुने यो पदका लागि उनले आकांक्षा देखाएको विषय पनि बाहिर आएका छन्। तर खनाल यसलाई अस्वीकार गर्छन्। 'अब कार्यकारी भूमिकामा देखिन रहर छैन। यसका लागि दौडधुप पनि गरेको होइन,' उनले भने।
जीवनमा कहिल्यै अर्थसचिव हुन्छु भनेर नसोचेका खनाल यही कुर्सीबाट निजामती सेवा बिट मार्दैछन्। सुधारका पक्षपाती खनाल राजनीतिक संक्रमणले मुलुकले सन् १९९० को दशकको अन्त्यबाट थालेको आर्थिक सुधारका काम बीचमै अवरुद्ध हुन पुगेको ठान्छन्। 'हामीले सुधारका लागि लागेको मान्छेलाई सधैं साथ दिनुपर्छ र काम गर्ने वातावरण बनाइदिनुपर्छ,' उनी भन्छन्, 'सुधारको प्रक्रिया अवरुद्ध हुने गरी कामको वातावरण बिगार्नु हुँदैन।'
अर्थसचिवका रुपमा आफूले इमानदारीपूर्वक कार्यकाल व्यतित गरेको उनी ठान्छन्। खनालसँगै काम गरेकाले उनको यो कार्यकाल सोचे जस्तो नभएको टिप्पणी पनि गर्छन्। यसमा उनको कुनै गुनासो छैन। 'चुनौती थियो, अझै पनि छ, नजानेर गल्ती गरेको भए त थाहा छैन तर जानेर कुनै काम बिगारेको छैन,' उनी भन्छन्, 'मेरो कार्यकालको सबैभन्दा ठूलो चुनौती नै स्रोत व्यवस्थापन रह्यो, अब पनि यो रहिरहन्छन्।'
वित्तीय संघीयता कार्यान्वयनको चुनौतीपूर्ण अवस्थाका बीचमा अर्थसचिवको पद सम्हाल्न आइपुगेका खनाल आफ्नो यो दुई वर्षे कार्यकाललाई चुनौतीपूर्ण र रोमाञ्चक ठान्छन्। अझ त्योभन्दा धेरै अध्ययन र सिकाइमा गुज्रिएको उनको बुझाइ छ।
.JPG)
'यो दुई वर्ष मेरो सिकाइमै बित्यो, मलाई लाग्छ मैले अझै पढ्न र सिक्न धेरै बाँकी छ,' ५२ वर्षको उमेरमा निजामतीमा सर्वाधिक आकर्षण मानिने अर्थसचिवबाट अवकाश लिन लागेका खनाल भन्छन्, 'अझै पढ्छु, धेरै कुरा सिक्छु र अध्यात्ममा पनि लाग्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।