काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने उद्देश्यसहित पार्टीले ७ सदस्यीय समिति गठन गर्दै देशभरका संरचनाबाट सुझाव संकलन गर्ने प्रक्रिया अघि बढाएको हो ।
पार्टीको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लव सम्पादन समिति” गठन गरिएको छ ।
समितिमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना सचिव रहेका छन् भने सदस्यहरूमा समीक्षा बास्कोटा, के.पी. खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की (रोहन) रहेका छन् ।
समितिको वैशाख १० गते बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा तयार गर्न वडा, पालिका, जिल्ला र प्रदेश तहबाट व्यवहारिक तथा व्यवस्थित सुझाव संकलन गर्ने निर्णय गरेको छ ।
निर्धारित कार्यतालिकाअनुसार वैशाख १४ गते वडा तहमा छलफल गरी पालिकामा, वैशाख १६ गते पालिकाबाट जिल्लामा, वैशाख १७ गते जिल्लाबाट प्रदेशमा र वैशाख १८ गते प्रदेशबाट केन्द्रमा सुझाव पठाइने व्यवस्था गरिएको छ ।
सम्बन्धित समिति सभापति अनुपस्थित भएमा उपसभापतिको नेतृत्वमा भौतिक वा भर्चुअल बैठकमार्फत् छलफल गरी समयमै सुझाव पठाउन निर्देशन दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।