काठमाडौं- सुकुम्वासी आन्दोलनका प्रमुख अनुहार एवं सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले परिश्रमी फरार सूचीमा रहेको र सोही आधारमा पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको पुष्टि गरे।
यद्यपि, यो पक्राउलाई केवल 'बैंकिङ कसुर' सँग मात्र जोडेर हेरिएको छैन। सरकारले पछिल्लो समय सुकुम्वासी बस्ती हटाउने तयारीलाई तीव्रता दिइरहेका बेला आन्दोलनको नेतृत्व गरिरहेका परिश्रमी पक्राउ पर्नुलाई धेरैले अर्थपूर्ण मानेका छन्।
यसअघि पनि बस्ती हटाउने क्रममा प्रहरीमाथि नै जाइलागेको र बल प्रयोग गरेको आरोप खेपिरहेका परिश्रमी विरुद्ध पुरानो मुद्दा समेत कायमै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।