काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन्।
'शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र होइन,' निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा आज काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पोखरेलले भने, 'मन्त्रालयको निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस्।'
विद्यार्थीहरुलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्ने मन्त्री पोखरेलको भनाइ थियो। विद्यार्थीले बोक्नै नसक्नेगरी अव्यावहारिक ढंगले पुस्तक किन्न लगाउनु गलत भएको भन्दै मन्त्री पोखरेलले थपे, 'सामाजिक न्यायमा आधारित रहेर काम गर्नुस्।'
नियमविपरीत शैक्षिक शुल्क उठाएको गुनासो आएको भन्दै उनले यस्ता कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिए।
बैसाख पहिलो साताबाट बृहत् विद्यार्थी भर्ना अभियान सुरु गरिने बताउँदै पोखरेलले एक जनाले एक बालबालिका भर्ना गर्न अनुरोध पनि गरु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।