डडेल्धुरा- नेपाल भ्रमण २०२० मनाइरहँदा नेपाली भाषाको उद्गमस्थल ऐतिहासिक अजयमेरुकोट पर्यटकको पर्खाइमा छ।
डडेल्धुराको अजयमेरु गाउँपालिकाको नाम अजयमेरूकोटकै नामले राखिएकाे छ। गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अजयमेरुकोट पुग्न जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाबाट १० किलोमिटरको दूरी पार गरी उग्रतारा मन्दिर, अमरगढी किल्ला हुँदै जान सकिन्छ।
अहिले अजयमेरुकोटसम्म सडकको पहुँच पुगेको छ। गाउँपालिकाले आफ्नै सवारी साधन खरिद गरेपछि यहाँ घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ। डोटी, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, कैलाली र कञ्चनपुरका विद्यार्थी यहाँ घुम्न बढी आउने गरेका छन्।
आठौँं शताब्दीका राजा नागी मल्लले गर्मीको समयमा बसेर डोटी राज्य सञ्चालन गर्न अजयमेरुकोट बनाएको किम्बदन्ती छ। जुम्लादेखि कर्णाली नदीसम्मको शक्तिशाली डोटी राज्यको राजधानी रहेको अजयमेरुकोट नेपाली भाषाको उद्गमस्थल मात्र नभई १५ सय वर्षअघिको इतिहासको प्रमुख अनुसन्धान केन्द्रका रुपमा पनि हेर्ने गरिन्छ।
दरबारभित्रैबाट ४ किलोमिटर सुरुङमार्ग हुँदै गणीका नदी निस्कने गुफा, तेह्रौं शताब्दीका अद्भूत कलाकृति, ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष हेर्न लायक छन्। अनुसन्धानकर्ताहरूका लागि अजयमेरुकोट एक महत्वपूर्ण अध्ययनस्थलको रुपमा छ। चार दशकभन्दा बढी अजयमेरुकाेटबाट शासन गरेका डोटेली राजाहरुले सो क्षेत्रमा निर्माण गरेका देवल, स्नान घर र पानी पँधेरो ढुंगेकला पनि धेरै पर्यटकको ध्यान खिच्न सफल छन्।
नेपाल एकीकरणको अभियानसँगै विसं १८४७ भदाै ३१ गते सेती नदी किनारमा गौर्खाली सेनासँग डोटेली सैन्य पराजित भएपछि डोटी राज्य बृहत नेपालभित्र समाहित भएको थियो।

संरक्षणको अभावमा भग्नावशेषमा परिणत
ऐतिहासिक दरबार संरक्षणको अभावमा हाल भग्नावशेषमा परिणत भएकाे छ। उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसक्दा पनि संरक्षणमा ध्यान कसैको जान नसकेको भन्दै स्थानीय आक्रोशित छन्।अजयमेरु गाउँपालिकाको चिनारीको रुपमा रहेको अजयमेरुकोटलाई राज्यले उपेक्षा गरेको स्थानीयकाे गुनासाे छ।
पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्न पहल गरिरहेको अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति चोरी भइसकेका छन् भने ढुङ्गाहरु चोरेर स्थानीयवासीले प्रयोग गरिरहेका छन्।
कोट क्षेत्रमा रहेका अधिकांश देवल पूर्णरुपमा नष्ट भइसकेका छन्। नेपाल सरकारबाट थोरै बजेट आउने र त्यो पनि उद्देश्यअनुसार काम नहुने गरेको स्थानीयवासीकाे आरोप छ। कोटको संरक्षण र संवर्धनका लागि गुरुयोजना बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ। समयमै कोटको संरक्षण गर्न नसके कथामात्रै बाँकी रहने स्थानीय बताउँछन्।
संरक्षण र संवद्र्धन हुन नसक्दा कोट क्षेत्रका गुफासमेत बन्द भइसकेका छन् भने कोटमा रहेको दरबार, घोडा राख्ने तबेला र अन्य संरचनासमेत हराउँदै गइरहेको स्थानीय चन्द्र ऐरले बताए। ‘अजयमेरुकोट क्षेत्रमा रहेका ऐतिहासिक पानीका न्वाला जीर्ण भइसकेका र केहीको नाम निसानासमेत बाँकी नरहने अवस्था छ,’ उनले भने, ‘हामीले त यति त देखेका छौं आउने पुस्ताले त यति पनि देख्न पाउँछन् कि पाउँदैनन्।’
जमिन अतिक्रमण गरेर खेती गर्नाले बाँकी रहेका भौतिक संरचना हेर्न, अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्या हुने गरेको छ।
संरक्षणका लागि पनि योजनाबद्ध रुपमा लागेको गाउँपालिकाको दाबी
नेपाल एकीकरणमा पश्चिम विजय गर्ने प्रमुख सामरिक अमरगढी किल्लादेखि ७ किलोमिटर दूरीमा रहेको अजयमेरुकोटको संरक्षणका लागि योजनाबद्ध रुपमा लागेको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टकाे दाबी छ।
‘नेपाली भाषाको उद्गम स्थलका रुपमा चर्चा पाएको अजयमेरु ऐतिहासिक महत्व बोकेको स्थल भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेका कारण गत वर्ष कोटसम्म पर्यटक पुर्याउन र कोटलाई देशविदेशसम्म चिनाउन महोत्सव आयोजना गर्याैं,’ उनले भने, ‘अहिले पनि यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको फोटो सामाजिक संजालमा हामी प्रचारप्रसार गरिरहेका छौँ।’

'अजयमेरुकोट हाम्रो गाउँपालिकाको चिनारी हो। यसको संरक्षणका लागि हामीले समिति बनाएर अहिले गुरुयोजना निर्माण गरेका छाैं,' अध्यक्ष भट्टले भने। कोटसम्म आउने पर्यटकका लागि होमस्टेको सञ्चालनको तयारी छ। होमस्टेमा यहाँको स्थानीय खानाको प्रकार माडा, गतानी डुप्का, मकैको रोटी, कोदाको रोटी आदि खानेकुराको व्यवस्था गरेर पर्यटकलाई अकर्षण गर्ने योजना बनाएको उनको भनाइ छ। 'अहिले गुफा पुरिने अवस्थामा छ त्यसैले गुफा खोल्ने योजना छ,' उनले थपे।
गाउँपालिकासँग त्यति धेरै रकम नहुने भएकाले संघ प्रदेश र पुरातत्व विभागसँग सहकार्यमा पुननिर्माण गर्ने अध्यक्ष भट्टले बताए। भ्रमण वर्षको उद्घाटनको दिन पनि यसको प्रचारप्रसार गर्न कोटसम्म नै लामो दौड आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।