काठमाडौं- उच्च अदालत पाटनको आदेश अनुसार रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ब्युरो इन्चार्ज माइला लामासहित तीन जना पुनः पक्राउ परेका छन्।
उच्च अदालत पाटनको आदेशअनुसार रिहा भएका लामासँगै विप्लव नेकपाका केन्द्रीय सदस्य नवीन विश्वकर्मा र नेतृ धिरिन्द्रा उपाध्याय पुनः पक्राउ परेका हुन्।
उनीहरूलाई पक्राउ गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता दुर्गा सिंहले सुनसरी पठाउने तयारी भएको बताइन्।
उनीहरुविरुद्ध सुनसरीमा पनि हातहतियार र विस्फोटक पदार्थसम्बन्धी मुद्दा रहेकाले सुनसरी पठाइने सिंहको भनाइ छ।
यसअघि उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार तीनै नेतालाई रिहा गर्ने आदेश दिएको थियो।
नख्खु बम बिस्फोटको आरोपमा पक्राउ परेका लामालाई गत साउन ७ गते जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
लामालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको काडाँघारीबाट मध्यरातमा पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।