काठमाडौं- कार लिएर चोरी गर्ने ‘भिआइपी चोर’ को गिरोहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकालाई आधार इलाका बनाएर कार प्रयोग गर्दै चोरी गर्ने गिरोह रहेको सूचनाका अधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चोरीका सामान किन्ने सुनचाँदी पसलेदेखि चोरी गर्ने गिरोहसम्म छन्।
दोलखाको शैलुङ गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ३० वर्षीय रवि कार्की, काभ्रेको पाँचखाल खरेलथोकका २० वर्षीय उपेन्द्र खरेल र काठमाडौंकै १९ वर्षीय राजन खनाल पक्राउ परेका छन्। त्यसैगरी चोरीका सुनचाँदी किन्ने खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–१२ घर भई जोरपाटीमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका ४३ वर्षीय मौलकुमार विक पनि पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
यो समूहले गत पुस २८ गते विष्णबहादुर कार्कीको भत्केको पुलस्थित डेराबाट २ लाख नगद र २० तोला सुनका गरगहना चोरी गरेका थिए। उक्त घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट चोरी भएका सामानसहित तीन जनालाई पक्राउ गरेको थियो। उनीहरुले नै चोरी भएका सामान मौलबहादुर विकको पसलमा बेच्ने गरेको बताए पछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरिएका चारै जनालाई चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यही समूहका सदस्यले गत पुस २० गते सामाखुसीस्थित अशोककुमार यादवको डेराबाट समेत १ लाख २५ हजार र सुनचाँदी चोरी गरेको पाइएको प्रहरीले जनाएको छ। चोरी गर्दा प्रयोग गरिएको बा ३ च ६२७६ नम्बरको रवि कार्कीको नाममा रहेको गाडीसमेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।