काठमाडौं– रेस्टुरेन्टको बिल महँगो उठेको भन्दै गुनासो गर्ने एक ग्राहकलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ।
गुल्मीको इश्मा गाउँपालिका-६ घर भई काठमाडौं डिल्लीबजार बस्ने टपेन्द्र पन्थलाई शनिबार मरणासन्न हुनेगरी कुटपिट गरिएको हो।
रातोपुलस्थित अन्डरग्राउन्ड डान्सबारमा शनिबार साँझ खाना खाएका टपेन्द्रको बिल १२ हजार रुपैयाँ उठेको भन्दै बिल थमाएपछि उनले बिल महंगो भएको बताएका थिए।
यही विषयमा विवाद हुँदा होटल सञ्चालक र कर्मचारी मिलेर उनीमाथि मरणासन्न हुने गरी कुटपिट भएको हो।
कुटपिट गरेर सडकमा फालिएका टपेन्द्रको उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।
पछि त्यहाँ उपचार सम्भव नभएपछि ग्रान्डी अस्पतालकाे आइसियू कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। पेट, टाउको, तिघ्रालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले रेष्टुरेन्ट सञ्चालक ३४ वर्षीय गोपा वटाला, सिन्धुलीको कमलामाई–६ घर भई माकलवारी बस्ने १९ वर्षीया अस्मिता दनुवार, महेन्द्रनगर झलारी घर भई रातोपुल बस्ने २२ वर्षीय गणेश साउद, सिन्धुपाल्चोकको साँगाचोक–१० घर भएका २६ वर्षीय अनिता लामा र सिन्धुपाल्चोकको बाह्रबिसे–६ घर भएका सविन श्रेष्ठ छन्।
उनीहरुमाथि ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।