काठमाडौं- अकुपाई टुँडिखेल अभियानको तीन महिनामा आफूहरूले सोचेजस्तो प्रगति नभएको अभियानले बताएको छ।
अभियानले शनिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका प्रवक्ता सञ्जय अधिकारीले तीन महिनाको अवधिमा सोचेअनुसार प्रगति नभएको उल्लेख गरेका हुन्।
'अभियान सुरु भएको तीन महिना बितेपनि सोचेजस्तो प्रगति हुन सकेको छैन,' प्रवक्ता अधिकारीले भने। यद्यपि खुला ठाउँको पक्षमा जनमत निर्माण भएको, स्थानीय सरकारलाई उत्तरदायी बनाउने प्रयास भएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएका सामाग्री तथा कामदारको बासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरु गरिनुलाई अभियानले उपलब्धिका रूपमा लिएको छ।
अभियानले तीन महिनामा भएका उपलब्धि र अभियानका आगामी कार्यदिशाबारे समेत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो। आगामी हप्ता महानगरपालिकाको कार्यालयमा गएर अनुगमन प्रतिवेदन कार्यान्वयका लागि दबाव दिने, वन तथा वातावरण मन्त्रालयम गएर टुँडिखेललाई संरक्षीत क्षेत्र घोषणा गराउने लगायतका कार्यक्रम गरिने प्रवक्ता अधिकारीले जानकारी दिए।
पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी कपिल श्रेष्ठले बिपी कोइरालादेखि पुष्पकमल दाहालसम्मको सभा हुँदा रत्नपार्कदेखि वीर अस्पतालसम्म जनता हुने भए पनि अहिले सबै ठाउँ अतिक्रमणमा परेको उल्लेख गरे।
वीर अस्पतालका पूर्व निर्देशक भूपेन्द्र बस्नेतले २०७२ सालमा भूकम्पको समयमा धेरैको आश्रयस्थत टुँडिखेल भए पनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे।
अभियानले प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणासमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।