काठमाडौं- नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सई भन्दै ठगी गर्दै हिँड्ने रामेछाप मन्थली नगरपालिका-२ टेकनपुर घर भएका २६ वर्षीय राजु कार्कीलाई बिहीबार पक्राउ गरेको छ।
काठमाडौं बसुन्धारा बस्दै आएका उनले आफू काठमाडौं एयरपोर्टमा कार्यरत सई भएको नक्कली परिचय दिँदै ठगी गर्ने गरेका थिए।
कार्कीले आफूसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अप्ठेरोमा पर्ने भन्दै आफूसँग भएको ३० लाख रुपैयाँ दिने भनी सिन्धुपाल्चोक हेलम्बु घर भएका एक व्यक्तिबाट ३ लाख रुपैयाँ ठगी गरेको महाशाखाले जनाएको छ।
साथै कार्कीले ती व्यक्तिलाई आफूसँग भएको ३० लाख खातामा हालिदिन्छु भनी बैंक ट्रान्जेक्सन देखाउन ३ लाखको चेक काटिदिनुस्, पछि तुरुन्तै ३० लाख खातामा राखिदिन्छु भन्ने आश्वासन दिएका थिए।
एउटै शाखाबाट उक्त रकम निकाल्न नमिल्ने भन्दै चाबहिलस्थित नेपाल बैंक लिमिटेडको शाखामा लगी अलपत्र छोडी नेपाल बैंक लिमिटेड, कालिमाटी शाखाबाट नगद ३ लाख रुपैयाँ निकालेका थिए।
कार्कीको साथबाट नगद ७ हजार ५ सय रुपैयाँ, बा ९१ प ७४४६ नम्बरको मोटरसाइकल, मोबाइल १ थान समेत बरामद गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।