काठमाडौं- तपाईंहामीले जग्गा खरिद-बिक्रीबापत तिरेको मलपोत राजश्व कसको खातामा जम्मा हुन्छ होला? सिधा उत्तर छ, राज्यकोषको खातामा। तर मालपोत कार्यालय चाबहिलमा एक कार्यालय सहयोगीले करिब ९ करोड बराबरको रकम आफ्नो खातामा जम्मा गराए भन्ने कुरा सहजै विश्वास गर्न कठिन छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाले यो कुरा पत्याउन बाध्य पारेको छ।
२०४५ कात्तिक १९ गते मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका बस्नेतले २०७५ सालसम्म आइपुग्दा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ अवैध आर्जन गरेको आयोगले दायर गरेको अभियोगपत्रमा उल्लेख गरेको छ। आयोगले बिहिबार उनीविरुद्ध विशेष अदालतमा बिगो, जरिवाना र कैदसहितको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। यसरी कार्यालय सहयोगीले नै त ९ करोड भ्रष्टाचार गरे भने त्यहाँका अधिकृत स्तरका कर्मचारीले कति भ्रष्टाचार गरे भन्ने आँकलन गर्न गाह्रो छ।
बस्नेत र उनको परिवारले सेवा अवधिमा ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्र वैध स्रोतबाट आर्जन गरेको अख्तियारले दाबी गरेको छ। तर उनीविरुद्ध करिब ९ करोड भ्रष्टाचारको मुद्दा दायर गरिएकाले मालपोत भ्रष्टाचारको 'अखडा' भएको अनुमान लगाउन अब गाह्रो भएन।
नक्कली रसिद बनाएर ठगी
बस्नेतले जनताले तिरेको राजश्व ठग्न नक्कली रसिद निर्माण गरेका थिए। मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गर्ने तर त्यसबापतको राजस्व राज्यकोषमा दाखिला नगर्ने गरेको अख्तियारको अनुसन्धानमा पाइएको हो।
मालपोतमा जग्गा बिक्री, नामसारी र अन्य कामबापतको राजश्वमा नक्कली रसिद दिँदै उनले उक्त रकम आफ्नो खातामा जम्मा गर्ने गरेका थिए। दैनिक लाखौं रकम संकलन हुने राजश्वमा उनले नक्कली बिलमार्फत् घोटाला गरेका थिए।
११ लाखले खोल्यो ९ करोडको रहस्य
वर्षौंदेखि जनताले तिरेको राजश्व आफ्नो व्यक्तिगत खातामा राखेर भ्रष्टाचार गर्दै आएका बस्नेतको कर्तुत २०७५ असोज २५ गते खुलेको हो। असोज २५ गते आयोगको टोलीले ११ लाख नगदसहित कार्यालय सहयोगी बस्नेतलाई पक्राउ गरेको थियो। घुसबापत लिएको रकम र उनको सम्पत्ति विवरण खोजी गर्दै जाँदा करोडौं रुपैयाँ अवैध रुपमा आर्जन गरेको कर्तुत खोल्न आयोग सफल भएको हो।
बस्नेतले यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति आफू तथा आफ्नो परिवारका सदस्यलगायत नातामा भतिजा पर्ने व्यक्तिसमेतका नाममा जग्गा र सवारीसाधन र व्यवसायलगायतका विभिन्न शीर्षकमा लगानी गरेको अख्तियारले फेला पारेको हो।
कसका नाममा कति अवैध सम्पत्ति?
९ करोड भ्रष्टाचार गरेको आरोप लागेका बस्नेतले श्रीमती सीता बस्नेतका नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिद गरी ६ करोड ७४ लाख २५ हजार १ सय ४५ रुपैयाँ लुकाएका थिए।
त्यस्तै, आमा टुकुकुमारी बस्नेतका नाममा रहेको जग्गामा घर निर्माण गर्दै ६२ लाख ९० हजार ५ सय ४८ रुपैयाँ लुकाएको आख्तियारको आरोपपत्रमा उल्लेख छ। कर्जा एवं सापटी चुक्ता प्रयोजनमा ३९ लाख ७६ हजार २ सय ९०, जीवन बिमाका विभिन्न पोलिसी खरिद गरी ५ लाख ७० हजार ४ सय ९० लुकाएको अख्तियारले उल्लेख गरेको छ।
यसैगरी, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, अंशियार दाजुभाइलाई अंशबापत नगद भुक्तानीमा १५ लाख, पुँजीगत लाभकरमा ३ लाख ४७ हजार, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५ रुपैयाँ अवैध रूपमा आर्जन गरेको रकम खर्च गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। बस्नेतले श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाई अवैध सम्पत्ति लुकाउने प्रयास गरेका थिए। यसरी पठाइएको रकम पुनः भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई उनैका नामबाट लगानी गरिएको १ करोड र बस्नेत एवं परिवारका सदस्यका नाममा विभिन्न बैंक खातामा रहेको ५ लाख ८७ हजार १ सय ४८ अख्तियारले अनुसन्धानको क्रममा फेला पारेको छ।
बस्नेतले सरकारी सेवा गरेको ३० वर्षको अवधिमा कुल ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ अवैध रूपमा आर्जन गरेका थिए। त्यसमध्ये ७४ लाख ७३ हजार ३ सय ७३ मात्र उनको वैध आम्दानी हो। बाँकी ८ करोड ९८ लाख बराबर गैरकानुनी आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले बस्नेतसँग फेला पारेको ११ लाखसहित अन्य सम्पत्ति जफत गर्दै बिगो, सोही बराबर जरिवाना र हदैसम्मको कैद सजाय गर्न माग गरेको छ। अख्तियारले बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेतलाई पनि प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूलाई मतियार रुपमा भ्रष्टाचार गरेको सम्पत्ति लुकाउने कार्यमा सहयोग गरेको आरोपमा सजाय गर्न माग गरेको छ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार कैद, बिगो र बिगो बराबर जरिवानाको सजाय माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।