काठमाडौं– सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुको नक्कली छाप बनाउने कार्यमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका-१३ घर भई भक्तपुर सानोठिमी बस्ने २१ वर्षीय पारसमणि वली र सप्तरीको राजविराज नगरपालिका-७ घर भई काठमाडौं बागबजार बस्ने ३१ वर्षीय श्यामकुमार शाह छन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गत आइतबार पक्राउ गरेको हो। वली र शाह मिले सिटिइभिटीलगायत अन्य सरकारी कार्यालयहरुको छाप कीर्ते गर्दै आएको महाशाखाले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट चौरजहारी नगरपालिकाको छाप, कन्ट्रोलर अफ इक्जामिनेशनको छाप, रम्भादेवी टेक्निकल कलेजको छाप, टेकप्रसाद वली बोर्ड चियरम्यानको छाप, एसियन इन्जिनियरङको छाप, विभिन्न क्याम्पस चिफका छापहरु, प्रिन्टरमा प्रयोग गरिने विभिन्न रंगको मसी, सर्टिफिकेट, सवारी चालक अनुमति पत्र बनाउन र फोटो छाप्न प्रयोग हुने कागजहरु बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत ठिमी पठाइएको महाशाखाले जानकारी दियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।