काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटमा चितवन टाइगर्स टिमले अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद साहजादलाई अनुबन्ध गरेको छ।
साहजाद विशेषतः आक्रामक ब्याट्सम्यानका रुपमा चिनिन्छन्। उनीसँग टी ट्वान्टीमा एकै दिनमा दुई अर्धशतक बनाएको कीर्तिमानसमेत छ। २०१७ को जनवरीमा युएईमा डिजर्ट ट्वान्टी २० को खेलमा बिहान ओमनविरुद्ध र बेलुका आयरल्याण्डविरुद्ध अर्धशतक बनाएका थिए।
३३ वर्षका साहजादले अफगानिस्तानबाट दुई टेस्ट, ८४ एकदिवसीय र ६५ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। फस्ट क्लास क्रिकेटमा त उनको ब्याटिङ औसत ५० भन्दा माथि रहेको छ। सबै फम्र्याटमा गरेर उनले १३ हजारभन्दा बढी रन बनाएका छन्।
एक समय नेपाल जस्तै डिभिजन पाँचबाट संघर्ष गरेको अफगानिस्तानलाई टेस्ट मान्यतासम्म लैजान सहजादको भूमिका पनि अब्बल मानिन्छ।
‘हाम्रो लामो समयको प्रयास र साहजाद पनि इच्छुक भएपछि सहमतिमा पुगेका हौँ। साहजादको आगमनले चितवन टाइगर्सको ब्याटिङमा नयाँ आयाम दिने विश्वास गरेका छौँ। उनको आगमनले अरु खेलाडीलाई राम्रो अनुभव दिनेछ’ चितवन टाइगर्सका निर्देशक बिनिता चौधरी भट्टराईले उनको आगमनमा भनेकी छिन्।
आउँदो चैत १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेटका लागि ललितपुर प्याट्रियोट्सले श्रीलंकन खेलाडी उपुल थारङ्गा र भैरहवा ग्लाडियटर्सले ड्वायन स्मिथ जस्ता अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीसमेत ल्याइसकेको छ।
इपिएलले आफ्नो आधिकारिक वेवसाइटमा हसिम अमला, मोहमद साहजाद, लियाम प्लङकेट, सेकुगे प्रसन्ना, केसरिक विलियम्स जस्ता खेलाडी पनि खेल्ने जनाएको छ।
को को छन् अहिलेसम्म चितवन टाइगर्समा
सोमपाल कामी, सन्दीप सुनार, मोहम्मद साहजाद, शाहब आलम, दिलीप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, अदिल खान, इशान पाण्डे, खडक बोहरा
यो पनि पढ्नुहोस्- अमृत र अनिलले इपिएल खेल्ने, कुन टिमले कसलाई ल्याए कसलाई बिदा गरे?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।