काठमाडौं- मोरङमा प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेको खुलेको छ।
माघ ६ गते मृत फेला परेका मोरङको कटहरी नगरपालिका-७ का ४५ वर्षीय विकास सरदारको उनकै श्रीमती दयावती सरदारले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको हो।
ग्रामथान गाउँपालिका-३ ढङटोलीस्थित सडक छेउमा रहेको पानी जेमेको खाल्डोमा विकास मृत भेटिएका थिए। टाउकामा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका विकास हत्या हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा विकासको हत्या उनकै श्रीमती दयावतीले आफ्नो प्रेमी कटहरी-७ कै ३६ वर्षीय बद्री सरदारसँग मिलेर हत्या गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ।
माघ ५ गते राति ८ बजे बद्रीसँगै ललन सरदार र मुकेश सरदार विकासको घर गई तास खेल्न जाउँ भन्दै विकासलाई घरबाट ल्याएका थिए। विकासकै श्रीमतीको पूर्वयोजनाअनुसार बाटोमा ल्याएपछि रडले टाउकोमा हानेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।
दयावती र बद्रीबीच शारिरीक सम्बन्ध समेत रहेको र उक्त विषयमा उनीहरुबीच विवाद भएपछि उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।