काठमाडौं- प्रहरीको कामले सरकारको पक्ष विपक्षमा जनमत तयार हुने भएकाले व्यवसायिक भएर काम गर्न महानगरीय प्रहरी कार्यालय रानिपोखरीका डिआइजी विश्वराज पोखरेलले मातहतका प्रहरीलाई निर्देशन दिएका छन्।
सरकारको प्रतिनिधित्व गर्ने राज्य संयन्त्रहरूमा प्रहरी नै पहिलो प्रतिनिधि पात्रको रूपमा रहने हुँदा प्रहरीले गरेको कार्यले सरकारको पक्ष विपक्ष जनमत तयार हुनाले निष्पक्ष र भेदभावरहित अनुसन्धान, बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक भएर कार्य गर्नुपर्ने उनको भनाइ थियो।
डिआइजी पोखरेलले मंगलबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताएका हुन्।
राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने, प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने भन्दै डिआइजी पोखरेलले भने, ‘काठमाडौंलाई शान्त-सुरक्षित बनाउनुस् देश आफैं शान्त र सुरक्षित हुन्छ।’
प्रहरी कार्यालयमा आउने सेवाग्राही पीडित भएर नै आउने हुनाले उनीहरुको पिरमर्कालाई आफूलाई नै परेको पीडा सम्झेर सरल, छिटो, छरितो तरिकाले सेवा प्रवाह गर्न समेत उनले निर्देशन दिए।
कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदीय हैसियतमा म ठूलो हुँ भन्ने भावनालाई थाती राखी जिम्मेवारीको गहनतालाई बुझी जिम्मेवार भएर सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
व्यक्तिगत स्वार्थ पूरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमितता गरी सेवाग्राहीलाई दुखः दिई अन्याय गर्ने काम गरेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउन समेत आफू पछि नपर्ने उनले बताए।
कानुनको उल्लंघन गर्ने जो कोही भएता पनि ओहोदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिँदै कानुनको सही तरिकाले निर्दयितापूर्वक कार्यान्वयन गर्दा जस्तोसुकै दबाव आए पनि पछि नहट्न निर्देशन दिए।
विभिन्न आपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ति सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यसतर्फ सचेत रहँदै शान्ति सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन-रात नभनी त्रुटीरहित जिम्मेवारी बहन गर्न समेत उनले निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।