काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा ‘धक्का’शब्दको प्रयोग गरे। जुन नेपाल भ्रमण वर्ष २०२० को प्रसंगमा थियो।
‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा अघि सारेका छौं। सुरुमै केही धक्काका संकेतहरु प्राविधिक हिसाबले देखापरेका छन्,' प्रधानमन्त्री ओलीले थपे, 'जसलाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ। सरकार त्यसको तयारीमा लागेको छ।'
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले भ्रमण वर्षको प्रसंगमा प्रधानमन्त्री ओलीले ‘धक्का’शब्दको प्रयोग गरेको बुझेनन्। उनले देशलाई नै कसैले ‘धक्का’ दिइरहेको जस्तो बुझे।
आफ्नो सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओलीसँग धक्काको स्पष्टिकरण मागे, ‘प्रधानमन्त्रीले संसदमा धक्का शब्दको प्रयोग गर्नुभएको छ। केको धक्का हो यो? कहाँबाट धक्का आयो? ठूलो धक्का आउँछ नेपालमा। कसले धक्का दिन्छ? नेपालमा धक्का दिने को हो? हामीले थाहा पाउनुपर्यो नि! हामीलाई कसले धक्का दिन सक्छ? प्रधानमन्त्री बोल्नुभएको छैन।’
प्रधानमन्त्री ओलीले यही बेला कोरोना भाइरसको त्रास फैलिनु, अन्नपूर्ण पदमार्गमा पर्यटक हराउनु, भारतीय पर्यटक सुतिरहेको अवस्थामा मृत्यु हुनु र नेपाल एअरलाइन्स सिइओविहीन हुनुजस्ता विषयले पर्यटन वर्षलाई धक्काका रुपमा प्रस्तुत गर्न खोजेका हुन्।
देउवाले भने देशलाई नै कसैले धक्का दिइरहेको रुपमा बुझेर प्रतिक्रिया दिने हतारो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।