जनकपुर– उमेश यादवले परदेशमा मृत्युदण्डको सजाय पाउँदा परिवारले उनको आशा नै मारिसकेको थियो। तर समय सधैं एकनासको कहाँ हुन्छ र? साउदी अरबमा मृत्युदण्डको सजाय पाएर पनि बाँचेर स्वदेश फर्कदा परिवारले आफूलाई सम्हाल्नै सकेनन्। श्रीमती सन्जु भावविव्हल बनेर अंगालोमा बेरिइन् भने वषौैंपछि बुवाआमालाई भेट्न पाउँदा उमेशका आँखामा आँसुको भेल बग्यो।
माघ ८ गते साउदीबाट नेपाल आईपुगेका उमेश सोमबारमा यति एयरको विमानबाट जनकपुर आईपुगेका हुन्।
उमेशले १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई अंकमाल गर्न पाउँदा खुसीको सीमा थिएन। त्यो खुसीको आँसु उमेशलाई हेरिरहेका सबैको आँखाबाट छचल्किरहेको थियो।
वर्षौंदेखि उमेशको पर्खाइमा बिताएकी सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थल पुगेकी थिइन्। साथमा अन्य परिवारजन पनि थिए।
उमेश आउनुभन्दा अघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् मृत्युको मुखबाट फर्केर आइपुग्नुभयो, योभन्दा ठूलो खुसी संसारमा अरु केही हुनै सक्दैन।’ अब श्रीमानलाई कतै जान नदिएर उनीसँगै बसेर छोराहरुलाई ठूलो मान्छे बनाउने उनको अबको योजना छ।
घर पुगेलगत्तै उनकी वृद्ध आमाले पनि आफूलाई सम्हाल्न सकिनन् भने गाउँ, टोलभरि नै खुसीका आँसु बगे। गाउँलेहरुले पनि उमेश घर आउँदा सपनाजस्तै भएको बताए ।
आफ्नो घर पुगे लगत्तै जसोतसो जीवनयापन गरिरहेकी उनकी आमा र पारालाईज भएका उनका विरामी बुवाले समेत आँसु थाम्न सकेनन् भने उनकी आमा पनि उमेशलाई देख्ने वित्तिकै भक्कानिएर जोडले क्वाक्वा गरेर नै राए । उमेश पनि आमा बालाई अंगालो मारी धक खोलेर नै रोए । यसरी उमेशले आफूलाई सम्हाल्न सकेनन भने सिँगो टोलका वासिन्दाले नै आफ्नो आँसु रोक्न पाएनन् ।
बुबासमेत चिनेनन् कान्छो छोराले
सन् २००६ मा उमेश साउदी अरब जाँदा कान्छो छोरा हितेश जन्मेको जम्मा १७ दिनमात्र पुगेको थियो। जेठा छोरा कमलेश यादव चार वर्षका थिए। दुबै छोराहरु बुवालाई अंगालो हाल्दै निकैबेरसम्म आँसु झारिरहे।
उमेशको घर धनुषाको कमला नगरपालिका ५, पर्सा हो । ससुराली सिरहाको कर्जन्हा नगरपालिका ७, मरेवा टोल। उमेश जेल परेपछि सञ्जु माइतमा ८ वर्ष बसिन् । छोराहरु दुवैलाई माइतमै लगिन्। सञ्जु त्यतिबेलाको अवस्था सम्झिन्छिन्, ‘सासूससुराले बस्छौ भने बस, नभए माइत जाऊ भने, त्यसपछि छोराहरु लिएर माइत गएँ।’
अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका भए । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिंग स्कुलमा पढ्छन्। हितेशचाहिँ सरस्वती बोर्डिंग स्कुलमा कक्षा ३ मा पढिरहेका छन्।
कहिलेकाही जेलबाटै सुटुक्क फोनमा कुरा
करिब १४ बर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका उमेशले आफ्नी आमालाई कहिलेकाही जेलबाटै सुटुक्क फोन गर्थे। फोनमा मात्र ५–७ सेकेन्ड जति कुरा हुन्थ्यो उनले ‘छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु’ भन्न नपाउँदै फोन काटिन्थ्यो । छरछिमेक र आमाबुवाको आँखा त्यति बेला रसाएर धुरुधुरु रुनुबाहेक अन्य कुनै माहौल हुँदैनथ्यो।
काठमाडौँको सुभास मेनपावर कम्पनीबाट उनी लेवरको काममा साउदीको बिनलादीन कम्पनीमा पुगेका थिए । २ महिनापछि नै सँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद वाजिरसँग उमेशको झडप हँदा बाजिरको मृत्यु भयो।
त्यसपछि उमेशलाई पक्राउ गरि जुबैलको जेलमा राखियो।
जुबैलको स्थानीय अदालतले उमेशलाई दोषी प्रमाणित गरी मृत्युदण्डको सजाय सुनायो।
यसरी बाँचे उमेश
सउदी जेलमा १४ वर्षदेखि रहेका धनुषाका उमेश यादवको मुद्दाबारे सुनुवाइ हुनेबारे सउदी अरबमा सजायबारे विभिन्न सञ्चार माध्यममा आएपछि जागरुक भएका सरोकारबालाले उमेशबारे विस्तृत सोधीखोजी गरे। यसैक्रममा समाजिक अभियन्ता एवं तराई मधेस राष्ट्रिय परिषद्का सदस्य सरोज रायले उमेशको मुद्दाप्रति चासो लिंदै विस्तृत खोजतलासमा लागे ।
सउदीमा उमेशसँग भएको दुर्घटना र १२ बर्षदेखि जेलमा बन्द उमेशको बारेमा प्रकाशित समाचार तथा यथार्थबारे उनले पहल थाले। ब्लडमनी दिएमात्रै उमेश घर फर्कन पाउनेजस्ता समाचार आएपछि निकै चासो लिएर सबै कुरा पत्ता लगाउनेतर्फ लागे ।
त्यसपछि देश–विदेशमा बस्ने नेपालीहरु उमेशलाई सहयोग गर्न तयार भए ।
२०११ मा साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले उमेशलाई बचाउन पहल सुरु गरेका थिए। त्यसैक्रममा जनवरी २०१२ मा पीडित परिवारले उमेशलाई माफी दिएको थियो। त्यसयता उनी जेलमा रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।