काठमाडौं- अध्यागमन विभागले आफ्नै नयाँ सफ्टवयेर नेपाली पोर्ट जडान गरेको छ।
अध्यागमनको प्रविधिमा सुधार गर्ने योजनाअनुसार अध्यागमनले पहिलो पटक आफ्नै सफ्टवयेर जडान गरेको हो।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पोर्टको औपचारिक शुभारम्भ गरेका हुन्।
सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल आउने पर्यटकको आवागमन सरल, सहज र सुरक्षित हुने बताए।
तोकिएको समयभन्दा अगावै सफ्टवयेर सञ्चालनमा ल्याउन सकेकाले उनले अध्यागमनको कामबाट अन्य निकायले पनि पाठ सिक्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले उक्त पोर्ट जडान भएसँगै आपराधिक सञ्जाल ध्वस्त हुने दाबी गरे।
यो सफ्टवयेरले आँखाको रेटिना, फोटा र फिंगर प्रिन्ट समेत स्क्यान गर्ने र होटलसम्मै पर्यटकको निगरानी गर्ने भएको आपराधिक सञ्जाल ध्वस्त पार्न सहयोग पुग्ने मन्त्री थापाको भनाइ थियो।
सफ्टवयेरसँगै अत्याधुनिक कम्प्युटर, सिसी क्यामेरा तथा उच्च गतिको इन्टरनेट जडान भएकाले मिलिसेकेन्ड पनि सर्भर डाउन नहुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए।
त्यस्तै नक्कली कागजात भए यो सफ्टवयेरले तत्कालै पत्ता लगाउने उनको भनाइ थियो।
जसका लागि एफडियू ल्याबको समेत स्थापन गरिएको पौडेलले बताए। शंकास्पद व्यक्तिलाई सोधपुछ गर्न आइसोलेसन कक्षसमेत स्थापन गरिएको छ।
अध्यागमन सुधार कार्यक्रम अनुसार २२ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा अहिलेसम्म १६ करोड रुपैयाँ खर्च भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।