काठमाडौं- प्रतिनिधिसभा सभामुखको निर्वाचन आज हुँदैछ। सभामुख चयनका लागि प्रतिनिधिसभाकाे बैठक आज दिउँसाे ३ बजे बाेलाइएकाे छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको निर्वाचन माघ १२ गते (आज)गर्ने घोषणा गरेको थियाे। जेष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन्।
सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकाेटाकाे मात्रै उम्मेदवारी परेकाे छ। प्रतिनिधिसभा सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु भएसँगेै संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार सोमबार नेकपाकाे तर्फबाट सापकोटाले मात्र सभामुखका लागि उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ।
यसैबीच सभामुखका उम्मेदवार सापकाेटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वाेच्च अदालतमा परेकाे रिटकाे आज सुनवाइ हुँदैछ।
सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियाे। अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वाचित हुनबाट रोक्न र कानूनी कारवाही अघि बढाउन तत्काल पक्राउ गर्नुपर्ने जिकिर गरेका छन्। साथै त्रिपाठीले उनलाई सभामुख निर्वाचित गराउने प्रक्रिया रोक्न पनि अदालतको आदेशको माग गरेका छन्।
सापकोटालाई सभामुख पदका लागि नेकपाले अघि सारेपछि विभिन्न मानव अधिकारवादी संघसंस्थाले पनि विरोधमा प्रदर्शन गरेका छन्।
सापकोटाविरुद्ध अदालतमा विचाराधिन मुद्दा अघि बढाउने वा नबढाउने भन्नेबारे अदालतले माघ २२ गतेका लागि पेशी तोकेको छ।
नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि आफ्नै कार्यालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा असोज १४ गते पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।