नेपालगन्ज– बाँके जिल्लाको डुडुवा गाउँपालिकाले ऐन, कानुन, नियमावली र कार्यविधि तर्जुमा गरी राजपत्र जारी गरेको छ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भाग १, २ र ३ अन्र्तगत निर्माण गरिएका कानुनहरु समेटिएको राजपत्र सार्वजनिक गरेका हुन्।
गाउँपालिकाले गाउँपालिकाका ऐन, कानुन, नियमावली र कार्यविधीलाई प्रमाणीकरण गरि चैत्र १५ गते राजपत्रमा प्रकाशित गरेको थियो।
सम्भवतः डुडुवा राजपत्र प्रकाशन गर्ने देशकै पहिलो गाउँपालिका रहेको अध्यक्ष चौधरीले दावी गरे। निर्माण भएका ऐन, नियमावली र कार्यविधीले आफुहरुलाई काम गर्न सहज हुने उनले जिकिर गरे। संविधानले व्यवस्था गरेअनुसार करिब ४ महिना लगाएर ६ वटा ऐन, २ वटा नियमावली र ५ वटा कार्यविधी निमार्ण गरि कार्यान्वयनमा ल्याएको अध्यक्ष चौधरीले बताए।
राजपत्रमा प्रकाशनपछि गाउँपालिकाका ऐन, कानून अन्र्तगतका कार्यले वैधानिकता पाउने व्यवस्था नेपालको संविधान २०७२ ले गरेको छ।
राजपत्रको भाग १ मा गाउँपालिकाका ऐनहरु, भाग २ मा नियम, निर्देशिका र मापदण्डहरु तथा भाग ३ मा राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भनि तोकिएका सूचना, जानकारी तथा निर्णय लगायतको सामाग्री प्रकाशनको व्यवस्था रहेको छ।
गाउँपालिकाले आर्थिक ऐन, विनियोजन ऐन, आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, शिक्षा ऐन, सहकारी ऐन र आर्थिक ऐन(प्रथम संशोधन) २०७४ निर्माण गरेको छ। डुडुवा कार्यसम्पादन नियमावली र कार्यपालिका कार्यसम्पादन नियमावली गरि २ वटा नियमावली तयार गरेको छ।
यसैगरि राजपत्रमा प्रकाशन कार्यविधि, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन कार्यविधी, महिला बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लक्षित कार्यविधी, डुडुवा गाउँसभा संचालन कार्यविधी र गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधी २०७४ निमार्ण गरेको गाउँपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।