डडेल्धुरा- महाभारत पर्वतको मध्यभागमा रहेको चिर्किटे गाउँ जोड्न भित्री मधेश क्षेत्रबाट ८ सडक निर्माण भइरहेका छन्। जिल्ला सदरमुकाम जोड्न भित्री मधेशका विभिन्न भागबाट निर्माण सुरु भएका ८ वटै सडकको उद्देश्य चिर्किटे हुँदै सदरमुकाम जोड्ने भनिएको छ। तर यी सबै सडक डेढ दशकदेखि यी सडकमा बजेट सक्ने काम मात्र भएको छ।
जिल्लाको आधाभन्दा बढी जनसंख्या रहेको भित्री मधेश सदरमुकामसँग जोड्न ८ सडक निर्माणाधीन छन। तर कुनै पनि सडक ७ किलोमिटरभन्दा बढी निर्माण हुन सकेका छैनन्। बालुवामा पानी खन्याएजस्तै यी सडकमा वर्षेनी ठूलो विकास बजेट लगानी भइरहेको छ।
वर्षौंदेखि ८ वटा सडक निर्माणाधीन भए पनि सर्वसाधारणलाई भने जोगबुढादेखि ३२ किलोमिटर डोटीको बुडर हुँदै १ सय किलोमिटर यात्रा गरी जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता छ। निर्माण थालिएको डेढ दशकसम्म कुनै पनि सडकले सदरमुकाम जोड्न नसकेका कारण सामान्य कामका लागि सदरमुकाम आउनसमेत सर्वसाधारणलाई दुई दिन लाग्ने गरेको छ।
यी सडकमध्ये आलितालको घुम्तीदेखि चौड हुँदै अमरगढी नगरपालिकाको चिर्किटे जोड्ने सडक सबैभन्दा पुरानो हो। साविक शीर्ष गाविसको शीर्षदेखि सलुन, कलेना र गोगन हुँदै चिर्किटे जोड्ने सडक निर्माण हुन थालेको पनि १२ वर्ष भइसकेको छ। साविक शीर्षकै कटालदेखि स्यालकोट अचलसैन हुँदै चिर्कीटे जोड्ने सडक, साविक गाविस जोगबुढाको कैनपानीदेखि बोडा, कोलखान, गोगन हुँदै चिर्किटे सडक, साविक जोगबुढाको सलुन उमलेक हुँदै चिर्किटे सडक, शीर्षको मार्कु हुँदै गोगन चिर्किटे सडक, शीर्षकै बसौटी हुँदै चिर्किटे सडक र अमरगढी नगरपालिकाको घटाल थानदेखि चिर्किटे जोड्ने सडक निर्माण सुरु भएको दशक नाघिसकेको छ।
निर्माणाधीन सडकमा बजेट आउन थालेको पनि १२ वर्षभन्दा बढी भइसकेको छ। यीमध्ये अधिकांश सडकमा उपभोक्ता समितिमार्फत काम हुन्छ। हरेक वर्ष बजेट आउँछ, उभोक्ता समिति गठन हुने गरेका छन्। आषाढ मसान्तमा काम सम्पन्न भएको भन्दै भुक्तानी पनि हुन्छ तर सडकको अवस्था भने उस्तै। न कसैले यी सडकका विषयमा चासो राखेको छ, न त कसैले अहिलेसम्म कुनै निकायमा उजुरी नै गरेका छन्। चिर्किटे जोड्ने प्रायः सबै सडकमा घना साल र सल्लाको जंगल छ। सडक रेखांकन भएका गाउँका उपभोक्ता हुन्छन् तिनैले सडक निर्माणको जिम्मा लिन्छन्। सडक रेखांकन भएको क्षेत्रमा पर्ने गाउँमा पनि निकै पातलो नामको मात्र बस्ती रहेको छ।
द्वन्द्वकालदेखि नै ट्याक खोल्न सुरु गरिएका यीमध्ये ४ वटा सडक समेत ७ किलोमिटर भन्दा बढी वन्न सकेका छैनन । निर्माणाधीन यि सडक मध्ये एउटा सडकमा बर्षेनी १० लाख बढी खर्च भइसकेको छ। विगतमा गाविस, जिल्ला विकास समिति , कुलपताते सडक डिभिजन कार्यालयले यि सडकमा लगानी गर्दै आएको थियो। स्थानीय सरकार बनेको दुई बर्ष यता स्थानीयतहले पनि ठूलो रकम निर्माणाधीन यी सडकमा लगानी गरेको छ।
भित्री मधेशमा पर्ने साविकका तीनवटा गाविस शीर्ष, जोगबुढा र आलितालले यी ८ वटै सडकमा करोडौं रकम खर्च गरिसकेका छन्। साविकका शीर्ष र जोगबुढा मिलाएर बनेको परशुराम नगरपालिका र आलिताल गाउँपालिका भएको दुई वर्षमा पनि यी सडकमा करोडौं खर्च भएको तथ्यांकमा देखिन्छ तर सडक भने ७ किलोमिटर भन्दा बढी बन्न सकेका छैनन्। यस वर्षदेखि यी सडकमध्ये धेरैमा प्रदेश सरकारले पनि एक करोड बढी रकम छुट्टयाएको छ।
‘भित्री मधेश र सदरमुकाम जोड्न बनेका यी भिन्दाभिन्दै सडकमा अहिलेसम्म खर्च भएको बजेटले स्तरीय कालोपत्रे सडक निर्माण भइसक्ने थियो,’ जोगबुढाका स्थानीय समाजसेवी जोगराज जोशीले भने, ‘सडकका नाममा विभिन्न उद्देश्य राखी सडक सुरु गरिएका कारण डेढ दशक बित्न लाग्दा पनि कुनै सडक निर्माण हुन सकेका छैनन्।’ 'कतै साल काट्ने उद्देश्यले सडक निर्माण सुरु गरिएको छ भने कतै भागबण्डामा परेका कारण सडक निर्माण सुरु गरिएको छ,' उनले भने, ‘भित्री मधेशदेखि जम्मा ५० किलोमिटरमा सदरमुकाम जोड्न सकिने भएपनि निर्माणाधीन सवै सडकको लम्वाइ ४ सय किलोमिटर बढी रहेको छ।’ सडकका नाममा बजेट पचाउने मात्र काम भएको आतितालका उपभोक्ता चन्द्रबहादुर रोकाको गुनासो छ। ‘नाम मात्रका बजेट पचाउने सडक निर्माण भइरहेका छन्,’ रोकाले भने, ‘वर्षौंदेखि भित्री मधेशसँग जोडिएको चूरे र महाभारतका डांडामा सडक निर्माणका नाममा अनियमितता भइरहेको छ।’
निर्माणाधीन कुनै पनि सडकले अहिलेसम्म महाभारत छिचोल्न सकेको छैन। स्थानीय तहका जनप्रतिनिधि भने विगतमा भएको कुरा आफूहरूलाई जानकारी नभएको दाबी गर्छन्। आलीताल गाउँपालिका प्रमुख बलबहादुर गुरुङ भन्छन्, ‘आलीताल गाउँपालिकाबाट सदरमुकाम जोड्ने एउटा सडक गत वर्षदेखि द्रुत गतिमा काम भइरहेको छ।’ आलीतालको घुम्ती देखि चौड हुँदै चिर्किटे जोड्ने सडकमा गत वर्षदेखि तिव्र गतिमा काम भइरहेको उनले बताए।’ विगतमा यो सडकमा कस्ले कति रकम खर्च गर्यो गाउँपालिकालाइ कुनै जानकारी नभएको पनि प्रमुख गुरुङले बताए।
परशुराम नगरपालिकाकाका जनप्रतिनिधि पनि पहिलेदेखि नै निर्माणाधीन सडक भएकाले हरेक वर्ष बजेट छुट्टयाउँदै आएको बताउछन्। भित्री मधेशदेखि सदरमुकाम जोड्न एउटा सडकमा यस क्षेत्रका दुवै स्थानीय तह मिलेर काम गर्ने वातावरण बन्न नसकेको जनप्रतिनिधिको भनाइ रहेको छ। भित्री मधेशका दुवै स्थानीयतहले मिलेर एउटा सडकलाई प्राथमिकतामा राखी काम गर्ने हो भने यसै बर्ष सदरमुकामसंग जोड्न सकिन्छ।
प्रदेश सरकारले पनि एउटै सडकलाई प्राथमिकतामा राखी काम गर्न सके यसै आर्थिक वर्षमा सदरमुकाम जोड्न सकिने भएपनि त्यसो हुन सकेको छैन। चूरे क्षेत्र वन तथा वातावरण समन्वय समितिका संयोजक कैलाश पाण्डेय भन्छन्, ‘यति धेरै सडकको कुनै अर्थ नै छैन। वन तथा वातावरणमा पनि यसले नकारात्मक प्रभाव पारेको छ।’ सदरमुकाम जोड्ने भन्दा पनि सदरमुकामका नामले वन तथा वन पैदावार चोरी निकासी गर्ने उद्देश्यले यसरी जथाभावी सडक निर्माण हुन थालेको सर्वसाधारणले गुनासो गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।