जनकपुर- अवैध बालुवागिट्टी उत्खनन्विरुद्धका अभियन्ता ओमप्रकाश कुमार महतो (दिलीप) हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दिलीपलाई किच्न प्रयाेग गरिएकाे ना ७ ख ६४१३ नम्बरको टिपरका सहचालक १९ वर्षीय सत्यनारायण महतो रहेकाे प्रहरीले जनाएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका २ घर भएका उनलाई लुकिछिपी बसिरहेकाे अवस्थामा बिहीबार ढल्केवरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
कार्कीले भने, 'अनुसन्धानबाट दिलीपको हत्या घटनाको समयमा सत्यनारायणको पनि संलग्नता देखिएको छ। उनीमाथि थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको छ।’
गत पुस २५ गते औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न गएका बेला मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको हत्या भएको थियो। दिलीपलाई पहिले रडले प्रहार गरी घाइते बनाई टिपरले किचेर हत्या गरिएकाे थियो।
हत्याको ओराेपमा प्रहरीले चुरियामाई प्रशोधन केन्द्र क्रसर उद्योगका सञ्चाचालक विपिन महतो, टिपरका चालक मुनीन्द्र महतो, जितेन्द्रकुमार महतो र हत्याका प्रत्यक्षदर्शी भनिएकाे रोशनकुमार यादवलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ। दिलीपका परिवारले ७ जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।