काठमाडौं- नेपाली पैसा हेर्ने बहानामा चाेरी गर्ने दुईजना इरानी नागरिक पक्राउ परेका छन्। उनीहरुले मनी एक्सजेन्चमा पैसा हेर्ने बहानामा चाेरी गरेपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा ३५ वर्षका अलि मलिक र उनकै साथी भाहिद रहेका छन्। उनीहरुले ताहाचलस्थित मनी एक्सचेन्जबाट पैसा चाेरेका हुन्।
भाडाको स्कुटी बा७०प ७८२ प्रयोग गर्दै ठगी कार्यमा सक्रिय उनीहरु मुकेशकुमार जैसवालले सञ्चालन गरेको प्राश्ना मनी एक्सचेन्जमा पुगेका थिए। काउन्टरमा बसेकी युवतीसँग नेपाली पैसा हेर्न खोजेपछि हजारका नाेट भएको ९५ हजार रुपैयाँ र ५ सयका नाेट भएको ५० हजार रुपैयाँकाे बन्डल हेर्न भनि देखाएकी थिइन्। नेपाली पैसा हेर्दै गरेका उनीहरुले ९५ हजार मध्येबाट ४० हजार र ५० हजार मध्येबाट २६ हजार ५ सय रुपैयाँ निकालेका थिए। तर,उनीहरुले पैसा निकालेको युवतीले पत्ताे पाइनन्।
प्रहरीमा उजुरी परेपछि सिसिटिभिको फुटेजमा उनीहरुले पैसा निकालेको देखिएको थियो। त्यही फुटेजको आधारमा उनीहरुलाई काठमाडाैंबाट शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवरले जानकारी दिए।
ठगी धन्दामा सक्रिय उनीहरु पटक-पटक नेपाल आएको उनीहरुको पासपोर्टबाट खुलेको छ। पछिल्लोपटक जनवरी ६ मा उनीहरु नेपाल ओर्लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।