कञ्चनपुर– भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन्।
सशस्त्र द्वन्द्वको मौका छोप्दै २०५८ सालमा १५ वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर दलालहरुले अपहरण गरी उनलाई भारत लगेर बेचेका थिए। ‘यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे। होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे।,’ ताराले भनिन्,‘कहाँ लग्दैछ थाहा पाउने कुरै भएन। कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे। ४५ ठाउँमा यसैगरी बेचिएँ।’
‘डेढ वर्षसम्म रोइ नै रहैँ, रोएको कसैले सुनेनन्। नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन। के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा र्हुदैन’, उनले आफ्नो विगत सम्झिइन्। भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनीसँगै कामीले अहिले घरजम गरेकी छिन्। यो दम्पतीको अहिले १५ वर्षको छोरो छ। ‘नेपालको सिसैया, झलारी, मात्रै ठाउँ सम्झनामा थियो’, ताराले भनिन्,‘छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए। यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ।’
‘यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ। छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,’ उनले गहभरि आँशु पार्दै भनिन्,‘मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ। मैले त पाउनुसम्म यातना पाएँ। अरूले पाउन नपरोस्।’ नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताइन्।
ताराले भनिन्,‘अहिले कुनै दुःख छैन। घर र गाउँमै सल्लाह गरेर माइती भेट्न आइपुगेकी हुँ।’ घरजम गरी आफू बस्दैआएको गाउँ भारतको उत्तराखण्डमा नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनी बताउँछिन्।
उनका अनुसार सो गाउँमा किनेर विवाह गर्ने चलन रहेछ। ‘धनीले किनेर विवाह गर्छन्। गरिब भए विवाह नै हुँदैन।’,उनले थपिन्।
‘छोरी अब जीवित छैन भनेर माया मारिसकेका थियौँ,’ ताराकी आमा वीरमा कामीले भनिन्,‘भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ।’ चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कारबाही गर्नुपर्ने उनले माग गरिन्। ‘धेरै चेली गाउँबाट हराएका छन्। सबैको अवस्था पत्ता लगाउनुपर्छ,’ उनले भनिन्, ‘दलालहरुको पहिचान गरी कारबाही गर्दै पीडितलाई न्याय दिन सक्नुपर्छ।’
स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै ६ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म ३ जना छुटेर गाउँ फर्केका छन्। अन्य ३ जनाको अवस्था अज्ञात छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।