काठमाडौं- मध्यभोटेकोशीले प्रभावित क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले प्रभावित क्षेत्रका लागि २५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ। यदि प्रभावित क्षेत्रमा तोकिएको शेयर बिक्री नभएमा बिक्री नभएको शेयर सहित सर्वसाधारणका लागि बिक्री गर्नु पर्ने हुन्छ। तर, कम्पनीले प्रभावित क्षेत्रका लागि शेयर बिक्री नै नभइ सर्वसाधारणका लागि पनि शेयर निष्काशनका लागि भन्दै बोर्डमा निवेदन दिएको छ।
सर्वसाधारण तर्फ एक अर्ब ५० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नेछ। प्रभावित क्षेत्रका लागि १५ दिनको लागि म्याद दिने र यदि बिक्री भएन भने बिक्री नभएको शेयरसहित सर्वसाधारणका लागि जारी गर्ने प्रवर्द्धक कम्पनी चिलिमे हाइड्रोपावरका सञ्चालक तुलसीराम ढकालले बताए।
छिट्टै प्राथमिक शेयर निष्काशनका लागि दुबै क्षेत्रका लागि प्रकृयाँ अगाडि बढाइएको उनले जानकारी दिए। भोटेकोशीले प्रभावित क्षेत्रका लागि १० प्रतिशत शेयर निष्काशन गर्नेछ। साथै सर्वसाधारणका लागि भने १५ प्रतिशत साधारण शेयर निष्काशन गर्नेछ।
कम्पनीले यस अगाडि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रवर्द्धक कम्पनीका कर्मचारीहरुका लागि शेयर बिक्री गरिसकेको छ। कम्पनीको चुक्ता पुँजी एक अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ। आयोजनाको निर्माण कार्य प्रतिमेगावट १६ करोड ८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
पहिलो चरणमा प्रभावित क्षेत्रका लागि शेयर निष्काशन गरे पछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने छ। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ती गरिसकेको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको निर्माण कार्य ६० प्रतिशत भन्दा माथि सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।