मकवानपुर- सामुदायिक वन क्षेत्रभित्र नदीजन्य पदार्थ अवैध उत्खनन गरेको अभियोगमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यसहित चार जनाविरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालतले उनीहरुलाई पक्राउ पुर्जी पनि जारी गरेकाे छ।
मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका–७ मा रहेको कालिवन सामुदायिक वनभित्र नदीजन्य पदार्थ उत्खनन गरेको आधारमा डिभिजन वन कार्यालय हेटौँडाले कांग्रेस सांसद बहादुरसिंह लामा तामाङसहित चार जनाविरुद्ध फौजदारी अभियोगअन्तर्गत बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
जिल्ला अदालत मकवानपुरका तहसिलदार तुलसी लामिछानेले राष्ट्रिय वन क्षेत्रमा अवैध रूपमा स्काभेटर प्रयोग गरी उत्खनन कार्य गरेको अभियोगमा तामाङसहित कन्स्ट्रक्सन सञ्चालकद्वय निर्मलप्रसाद सिटौला र शिवहरि घिमिरे तथा फिल्ड साइड अफिस कर्मचारी सुवास डंगोलविरुद्ध मुद्दा दर्ता भएकाे जानकारी दिए।
सांसद तामाङ सञ्चालक/अध्यक्ष रहेको हिम्डुङ एन्ड थोकर कन्स्ट्रक्सन प्रालिको स्काभेटरले गत १३ पुसमा कालिवनभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थमा डिभिजन वनका सुबेदार यादविन्द्र पौडेलको नेतृत्वमा खटिएको वनरक्षकको टोलीले सर्लाही ईश्वरपुर नगरपालिका–५ निवासी चालक नरेशराम महरालाई पक्राउ गरेको थियो। महरा पक्राउ परेलगत्तै कालिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरिलाल स्याङ्तान फरार थिए।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।