सुनसरी- आफ्नै अनुयायीको बलात्कारका अभियुक्त कृष्णदास गिरी प्रहरीको सुरक्षामा रहँदारहँदै भारत भागे।
ग १ च ८१५७ नम्बरको जीपमा रहेका उनको सुरक्षामा नेपाल प्रहरीले हवल्दार मुकेश साहलाई खटाइएको थियो। बिहीवार पनि उनको सुरक्षामा खटिएका साह उनीसँगै हुँदाहुँदै सहजै नेपालको बोर्डर कटेर भारततिर भागेपछि प्रहरीको भूमिका शंकामा परेको छ।
'सिद्धबाबा'लाई बीचबाटै कसले भगायाे?
उनी चतरास्थित आश्रमबाट अदालत जान हिंडेका थिए। तर उनी धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध उच्च अदालतमा भएको सुनुवाइ सुन्न जानुको साटो बीच बाटोबाटै भारत भागे।
सुनसरी जिल्ला अदालतले प्रारम्भिक थुनछेक आदेशमा उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। उच्च अदालत विराटनगरले भने उनको धरौटी बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर, आदेश सार्वजनिक हुनु अगाडि नै उनले देशको सीमा कटिसकेका थिए।
प्रहरी स्रोतका अनुसार चतराको आश्रमबाट निस्किएका उनी दिउँसाे १२ बजे नै जोगबनीको सीमा कटिसकेका थिए। अदालतमा सुनुवाइ चलिरहेका आरोपी भारततिर जाँदा सुरक्षामा खटिएका प्रहरी हवल्दारले रोक्ने कोसिस गरेको देखिएको छैन। उनले गिरीबारे सीमामा रहेको प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराएको नदेखिएपछि भगाएको आशंकामा प्रहरी हवल्दर साहको भूमिका अनुसन्धानमा तानिएको छ।
उनी भाग्नु अगाडिको फोन सम्पर्क विवरणको आधारमा भगाउने सहयोगीको खोजीसमेत सुरु गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। 'प्रहरीको गम्भीर गल्ति देखियो,' स्रोतले भन्यो' 'अंग रक्षकसहित अन्यको भूमिकाबारे पनि अनुसन्धान हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।