काठमाडौं- बाल यौन दुराचारको मुद्दामा थुनामा परेका क्यानडियन नागरिक पिटर डालगिल्सको सजाय उच्च अदालत पाटनले एक वर्ष घटाएको छ।
यसअघि जिल्ला अदालत काभ्रेले गरेको नौ वर्षको कैद सजायको फैसला सदर गर्दै एक वर्ष घटाएर उच्चले आठ वर्ष कायम गरेको हो।
उच्च अदालतको फैसलाले पिटरको बाल यौन दुराचारमा संग्लनता रहेको तथ्यलाई थप स्थापित गरेको छ। न्यायधीशद्वय रामप्रसाद ओली र मीना गौतम सेढाईंको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। फैसलाको पूर्ण पाठ भने तयार भएको छैन।
प्रहरीले उनलाई २०७४ चैत २५ गते बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो। पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको उद्धार समेत गरिएको थियो।
विपन्न परिवारका बालबालिकालाई पढाइदिने भन्दै आश्वासन देखाएर जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने गरेको आरोप उनीमाथि लागेको थियो।
डालगिल्सले हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था खोली २ वर्षयता नेपालमा पटकपटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
डालगिल्सले सन् २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्रसंघमा काम गरेका थिए। यसैगरी उनी नेपालमा हिमालयन कम्युनिटी फाउण्डेसन नामक संस्था खोलेर शिक्षा र खानेपानी क्षेत्रमा काम गर्दै आएका थिए।
डालगिल्स द्वन्द्वपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधि समेत प्राप्त गरेका व्यक्ति भएको अनुसन्धानका क्रममा खुलेको थियो।
डालगिल्सलाई जिल्ला अदालत काभ्रेले बालयौन दुराचारमा मुद्दा ११ महिनापछि दोषी ठहर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।