जनकपुर– प्रदेश २ मा बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नेकपा र राजपा गठबन्धनले आफ्ना मतदातालाई विशेष निगरानीमा राखेका छन्। राष्ट्रियसभा निर्वाचनमा नेकपासँगको सहकार्य र टिकट वितरणप्रति राजपाभित्र विवाद देखिएको हुँदा मतदानमा ‘फ्लोर क्रस’ गर्नसक्ने आशंकामा मंगलबारदेखि नै राजपाका मतदातालाई महोत्तरीको वर्दिवासस्थित होटेलमा राखिएको छ ।उनीहरुलाई होटलमा प्रशिक्षण भन्दै राखिएको छ।
नेकपा र राजपाले गठबन्धन बनाई २–२ सिट बाँडफाँड गरी मनोनयन दर्ता गराएका छन्।
राजपा नेपालका केही मतदाता नेपाली कांग्रेस र समाजवादी पार्टीको गठबन्धनको तर्फ मत क्रस गर्न सक्ने सुइँको पाएपछि नेकपा–राजपा गठबन्धनले बुधबारदेखि नै आफ्ना मतदाताप्रति कडा निगरानी गरेका हुन्। प्रदेशसभा सदस्यसहित स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका मेयर र उपमेयर गरी प्रदेश २ मा राजपाबाट ७९ मतदाता छन्।
पार्टी अध्यक्ष मण्डलको निर्णयअनुसार मंगलबार र बुधबार बर्दिवासस्थित होटलमा राख्ने व्यवस्था भएको जनाइएको छ। बर्दिवासमा राखेर राष्ट्रियसभा निर्वाचनको दिन मतदानका लागि मतदातालाई सोझै जनकपुर ल्याउने योजना छ। मतदातालाई मतदान लगायत पार्टीको विषयमा प्रशिक्षण दिइने भनेर होटलमा राखिएको प्रदेशसभाका एक सदस्यले बताए।
बर्दिवासस्थित होटलमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवबाहेक अध्यक्ष मण्डलका सबै सदस्यसमेत पुगेका छन्। ती प्रदेशसभा सदस्यका अनुसार राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव बर्दिवास पुगेका छन्।
त्यसैगरी नेकपाका राष्ट्रियसभा उम्मेदवारका मतदाता प्रदेश सांसद, नगर प्रमुख र उपप्रमुखलाई समेत बर्दिबासका विभिन्न होटेलहरुमा राखिएको छ। ‘दुवै दलका जिल्ला ईन्चार्जहरुको निगरानीमा सबै मतदाता छन्। सबैले समय–समयमा जिल्ला ईन्चार्जकहाँ हाजिरी बनाउने, अति आवश्यक काम पर्दामात्र समय लिएर जान पाउने र समयावधिभित्रै आउनुपर्ने नियम बनाएको एक नगरप्रमुखले बताए ।
बर्दिबासको होटेल पावन मिथिला र होटेल विनायकमा राजपा नेपालका मतदाताको बासको व्यवस्था मिलाईएको छ भने होटेल सैलुंग र थकाली लगायतमा नेकपाका मतदातालाई व्यवस्था मिलाइएको छ ।
कांग्रेस र समाजवादी पार्टीका मतदाता जनकपुरका होटेलमा
राष्ट्रिय सभा चुनावका लागि गठबन्धन गरेका नेपाली कांग्रेस र समाजवादी पार्टी पनि आफ्नो मत सुरक्षित गर्न जनकपुरको होटेलमा राखेर मतदातालाई प्रशिक्षण दिइरहेका छन्। नेपाली कांग्रेसले आफ्ना मतदातालाई जनकपुरको रामानन्द चोकस्थित सीता प्यालेसमा बस्ने व्यवस्था मिलाएको छ भने समाजवादी पार्टीले जनकपुरकै मारबाडी सेवा समितिमा मतदातालाई बसोबासको बन्दोबस्त गरेको छ।
यस्तो छ अंकगणित
प्रदेश २ मा नेकपाका ३२ प्रदेश सांसद र ८३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा एक सय १५ मतदता छन्। यस्तै, राजपाका २५ प्रदेश सांसद र ५४ नगरप्रमुख तथा उपप्रमुख गरी ७९ जना छन्। नेकपा र राजपाको मतदाताको अंक गणित हेर्दा जम्मा १ सय ९४ छन्। जुन प्रदेश सभा निर्वाचनको लागि स्पष्ट बहुमत देखिन्छ।
प्रदेश २ मा कांग्रेसका १९ प्रदेश सांसद र ८१ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी एक सय मतदाता छन्। समाजवादीका ३० प्रदेशसभा सदस्य तथा ५२ स्थानीय तहका प्रमुख तथा उप्रमुख गरी जम्मा ८२ मतदाता छन्। कांग्रेस र समाजवादी गठबन्धनको जम्मा मतदाता १ सय ८२ छन्।
यस्तै प्रदेश २ मा एक प्रदेश सांसद र २ स्थानीय तहका मतदाता स्वतन्त्र छन्। तीमध्ये २ मतदाता आफ्नो पक्षमा रहेको नेकपाले दावी गर्दैछ ।
अंकगणीतीय हिसाबले नेकपा र राजपा गठबन्धन कांग्रेस र समाजवादी गठबन्धनको तुलनामा बलियो देखिएको छ।
यद्यपि काँग्रेस र समाजवादी गठनबन्धनले पनि आफू जित्ने दाबी गर्दैछ। पार्टीका केन्द्रीय सदस्य हरिनारायण मण्डलले कांग्रेस र समाजवादी गठबन्धनले नै जित्ने दाबी गर्दै भने, ‘नेकपा र राजपाको अपवित्र गठबन्धन हो । राजपाका केही मतदाता नेकपाप्रति असन्तुष्ट छन्, उनीहरूले हामीलाई मतदान गर्ने छन् ।’
तयारी पूरा
प्रदेश २ मा राष्ट्रियसभा सदस्यका ४ सिटका लागि मतदान हुँदैछ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको प्राङ्गणमा हुने निर्वाचनका लागि मतदानस्थलको निर्माण गर्ने कार्य सम्पन्न भएको छ।
मतदान अधिकृत डा. शम्भु साहले दुई वटा मतदानस्थल बनाइएको जनाए। उनले भने, ‘प्रदेश सभाका सदस्य र स्थानीय तहका मतदाताका लागि छुट्टाछुट्टै मतदानस्थलको निर्माण गरिएको छ ।’
प्रदेश २ मा प्रदेश सभाका सदस्यको संख्या १०७ छ भने स्थानीय तहमा १३६ पालिकाहरुका प्रमुख तथा उपप्रमुख गरेर कूल २७२ मतदाता छन्। दुवै मतदान केन्द्रमा गरी कूल ३ सय ७९ मतदाता छन् ।
बिहीबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुने कार्यक्रम रहेको निर्वाचन अधिकृत डा. साहले जनाए ।
निर्वाचनलाई मध्यनजर गरि मतदान स्थलमा महेन्द्रनारायण मिथिला सांस्कृतिक भवन क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान सम्पन्न भएपछि सर्वदलीय सहमतिका आधारमा बिहीबार बेलुकादेखि नै मतगणना गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश २ मा राष्ट्रिय सभाका चार सदस्यका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनमा नेकपासँग राजपा र काँग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरि उम्मेदवारी दिएका छन्। महिला एकपदका लागि हुने निर्वाचनमा नेकपाका तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसका तर्फबाट नगिना यादव मैदानमा छन्। दलित एक पदका लागि नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानबीच प्रतिष्पर्धा छ।
अल्पसंख्यक १ पदका लागि नेपाली कांग्रेसबाट भोला पजियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् भने अन्य १ पदका लागि समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा उत्रेका छन्।
प्रदेश २ का राष्ट्रियसभा निर्वाचन कार्यालयका अधिकृत राजुकुमार खतिवडाले मतदानका लागि २५ कर्मचारी मतदान सामग्रीसहित खटाइएकोे जानकारी दिए।
अधिकृत खतिवडाले भने, ‘स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी पुरा भएको छ।’ चुनावका लागि राजनीतिक दलसंग सर्वपक्षीय छलफल समेत निर्वाचन कार्यालयले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।