काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुकाे बैठक बस्ने भएको छ। पार्टीभित्रको विवाद अन्त्यका लागि शीर्ष तहका पाँच नेताको बैठक बस्न लागेको हो।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बोलाइएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई आमन्त्रण गरिएको छ।
पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षले बहुमतको आधारमा निर्णय सार्वजनिक गरेपछि संस्थापन र इतर समूहको दूरी बढेको थियो। केन्द्रीय समितिको निर्णय सच्चाउन संस्थापनइतर समूहले माग गर्दै आएको छ।
पुस ११ अघि पार्टीभित्र सहमति खोज्न बनाइएको कार्यदलकाे पछिल्लो समय बैठक बस्न सकेको थिएन। उक्त कार्यदलभन्दा माथिल्लो तहमा छलफल भने जारी थियो। उपसभापति विमलेन्द्र निधि,पूर्वमहामन्त्रीद्वय सिटौला र सिंहबीच दुई पटक बैठक बसिसकेको छ।
शीर्ष तहका नेताहरुबीच भएको छलफललाई आधार बनाएर सभापति देउवा निवासमा हुने छलफलले सहमति पहिल्याउने बताइएको छ। पार्टी भित्रको विवाद अन्त्यका लागि सहमति नजिक पुगेको बताइएको छ। १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने गरी यसअघि पारित निर्णयमा सहमति हुने भएको छ। तल्लोतहका कार्यसमितिका अधिवेशन भने पूर्व पारित निर्णयलाई सच्चाउने गरी छलफल अघि बढेको छ।
यस अघिको बैठकमा संस्थापन पक्षबाट नेतृत्व गर्दै आएका उपसभापति निधि सभापतिले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन्। निधि उपत्यकका बाहिर रहेकाले उनको स्थानमा महामन्त्री खड्कालाई सभापतिले निम्त्याएका छन्।
शीर्ष तहमा सहमति जुटेको अवस्थामा अर्को साता केन्द्रीय समिति बोलाएर सर्वसहमतिमा निर्णय सार्वजनिक गर्ने तयारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।