काठमाडाैं- सभामुखको उम्मेदवार टुंगिएसँगै विपक्षी दलका नेताहरू उपसभामुखको उम्मेदवारको आन्तरिक छलफलमा जुटेका छन्। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एकै दलको हुन नपाउने भएपछि उपसभामुख आफ्नो दलको बनाउन सरकार बाहिरका दल सक्रिय भएका हुन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले उपसभामुखमा दावेदारी प्रस्तुत गरिसकेका छन्। कांग्रेस नेता भिमसेनदास प्रधानले मंगलवार एक कार्यक्रममा उपसभामुखमा उम्मेदवारी दिने बताएका थिए।
सरकार बाहिर रहेर पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सघाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा)ले यसबारे केही नबोले पनि उपसभामुखको आकांक्षी देखिएकाे छ। राजपाका नेताहरू नेकपाको 'ग्रिन सिङनल'को प्रतिक्षामा देखिन्छन्। समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दल भने मौन देखिएका छन्।
नेकपाबाट उपसभामुख सम्भव नभए पनि नेकपाले जुन दललाई समर्थन गर्छ उसैले उपसभामुख पाउने पक्का छ। राष्ट्रियसभा निर्वाचनमा नेकपालाई सघाउने सहमति गरेको र सभामुखमा समर्थक बसेकाले विपक्षी दलमध्ये राजपाले उपसभामुखमा नेकपाको समर्थन पाउने सम्भावना बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।