काठमाडाैं- गायिका आस्था राउतलाई नेपाल आए लगत्तै प्रहरीले पक्राउ नगर्ने भएकाे छ। आस्था नेपाल फर्किए लगत्तै कार्यालयमा हाजिर गराउन परिवार सहमत भएपछि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको हाे।
आस्था कार्यक्रममा सहभागी हुन नेपाल बाहिर छिन्। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि परिवारले आफै कार्यालयमा ल्याउने वचन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारी पक्राउ नगरी पहिला छलफल गर्ने निष्कर्षमा पुगेका हुन्।
'उनको परिवारले कार्यालयमा ल्याउँछु भन्नुभएको छ,' परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, 'कार्यालयमा आएपछि छलफलपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौ।'
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच विवाद भएपछि प्रहरीले उनलाई दुर्व्यवहारको आरोपमा कारवाही अगाडि बढाउने तयारी गरेको हो। दुर्व्यवहारमा पक्राउको तयारीबारे आलोचना बढेपछि प्रहरी प्रारम्भमा छलफलबाट समाधान निकाल्ने तयारीमा लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।