जनकपुर- पूर्वराष्ट्रपति डा. रामवरण यादवले पर्यावरण संरक्षणका लागि दिलीप महतोले संचालन गरेको अवैध बालुवा गिट्टी उत्खनन्विरुद्धको अभियानलाई युवाहरूले निरन्तरता दिनुपर्ने बताएका छन्।
धनुषाको मिथिला नगरपालिकामा दिलीपकाे १३औँ पुण्यतिथिको अवसरमा मंगलबार भएकाे कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले शोकलाई शक्तिमा बदल्नुपर्ने बताउँदै चुरे फडानी तथा अवैध दोहनविरुद्ध सचेत युवाहरुले आवाज उठाउनुपर्ने बताए। पूर्वराष्ट्रपति डा. यादवले भने, ‘चुरे र अवैध दोहनतर्फ सरकारको ध्यान गएन भने नेपालमा पनि अतिवृष्टि, अनावृष्टि, सुख्खाजस्तो प्रकोप आउन धेरै दिन लाग्दैन।' उनले चुरे फडानी र अवैद्ध उत्खनन्विरुद्ध तीनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरे।
पूर्वराष्ट्रपति डा.यादवको पालामा नै राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रमको सुरुवात भएको थियो।
यसैबीच दिलीपको १३औं दिनको पुन्यतिथि तथा स्मरणमा वृक्षरोपण गरिएको छ। मिथिला नगरपालिका ५ विश्रामपुरको चुरे क्षेत्र औरही नदीको किनारमा पाखैर, मलेसियन सखुवा, अमला, सखसाल प्रजातिका एक हजार विरुवा पूर्वराष्ट्रपति डा. यादवको उपस्थितिमा गरिएको हाे।
मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको घर नजिकैको औरही खोलामा भइरहेको अवैध दोहन रोक्न जाँदा गएको पुस २५ गते बिहान हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।