राजविराज– जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान तीव्र पारेको छ। सोही क्रममा मंगलबार एकै दिन लुटपाट मुद्दाका चार प्रतिवादी पक्राउ परेका छन्। हनुमाननगर कंकालिन नगरपालिका–४, मधवापुरका तनुकलाक मण्डल, चन्देश्वर मण्डल, सोनावति अमात र सहेन्द्रकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय भारदहको टोलीले पक्राउ गरेका चारै जनालाई सप्तरी अदालतमा बुझाएको सप्तरीका डिएसपी तिलक भारतीले बताए।
यसअघि गत पुस २७ गते खडक नगरपालिका ७, ८ र ९ बाट १० फरार प्रतिवादी पक्राउ गरिएको थियो। कुटपिट मुद्दाका वडा नं. ७ निवासी हरेराम साह, शत्रुधनप्रसाद साह, वडा नं. ८ का अमिन मिया, जमिला खातुन, मो. सदाम मियाँ, अनेसुन खातुन र मो. सनाबुल मियाँ, सवारी ज्यान मुद्दाका ईनरलाल साह, किर्ते जालसाझी मुद्दाका इस्लाम मियाँ र गाली बेईज्जती मुद्दाका घुरनी देवी यादव पक्राउ परेका थिए।
यसैगरी पुस २३ गते शिक्षासम्बन्धी मुद्दाका डाक्नेश्वरी नगरपालिका–९ निवासी ३८ वर्षीय बलराम मेहता र कुटपिट मुद्दाका ५९ वर्षीय मुनर यादवलाई पक्राउ गरी अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
त्यसको दुई दिनअघि मात्रै (पुस २१ गते) प्रहरीले १७ प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
बोदेबर्साईनका ४७ वर्षीय चन्देश्वर साह तेली, ५७ वर्षीय झौली मण्डल, ४७ वर्षका महेन्द्र साह, ३८ वर्षका रामसुन्दर यादव, ५९ वर्षीय खगेन्द्र यादव, खड्क नगरपालिकाका ५८ वर्षीय ईसराइल मियाँ, फागु मण्डल, संगिता कुमारी चौधरी, बद्री चौधरी, नजबुद मियाँ, राज कुमार साह, दिपनारायण चौधरी, अरुण कुमार चौधरी, सुकमारदेवी चौधरी, राजगढ गाउँपालिकाका बलविर कुमार यादव, सुरुङ्गा नगरपालिका–९ का नरसिहं चौधरी र बलानबिहुल गाउँपालिका–३ का जयराम साहलाई पक्राउ गरी सोही दिन अदालतमा उपस्थित गराईएको डिएसपी भारतीले बताए।
पक्राउमध्ये कुटपिटका ५, ज्यान मार्ने उद्योगका २, जारी मुद्दाका २, लुटपाटका ३, ठगीका १, लेनदेनका १, जालसाजीका १ र अंगभंग मुद्दाका १ जना रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको १ वर्षे कार्ययोजनाअन्तर्गत फरार प्रतिवादी पक्राउ गर्ने अभियान जारी रहेको सप्तरीका एसपी कृष्ण प्रसाईंले बताए।
प्रहरीले चालु आर्थिक वर्षको ६ महिनाभित्र फैसला कार्यान्वयनतर्फ ३७ र अपराध अनुसन्धानका क्रममा २४ गरी ६१ जना फरार अभियुक्त पक्राउ गरिसकेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।