काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री भीमसेनदास प्रधानले सभामुखका लागि नेकपा उम्मेदवार अग्नि सापकोटा सबै दलको साझा उम्मेदवार भएको बताएका छन्। सभामुखमा आफ्नो दलले उम्मेदवारी नदिएर सापकोटालाई निर्विरोध गराउन सघाएको दाबी प्रधानको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता प्रधानले सभामुखका रुपमा कृष्णबहादुर महराको भूमिका प्रमुख प्रतिपक्षीका लागि स्वीकार्य नभएको तर सापकोटाले सबैलाई साथ लिएर संसदका गतिविधि अगाडि बढाउने विश्वास व्यक्त गरे।
‘महराजी सभामुख हुनुभयो, उहाँको भूमिका त्यस्तो पाएनौं,’ उनले भने,‘सुवास नेम्वाङ सभामुख हुँदा सबैलाई मिलाएर लग्नु भएको थियो। अब अग्निजीले पनि सुवासजीको जस्तै भूमिका निभाउनुहोला।’
उपसभामुखका काँग्रेसको दाबी
सभामुख र उपसभामुख एकै दलको नहुने संवैधानिक प्रावधान छ। सो प्रावधान अनुसार उपसभामुख नेकपाले नपाउने निश्चित छ।
प्रधानले उपसभामुख भने सर्वसम्मत नहुने संकेत गर्दै सापकोटालाई सभामुखमा सर्वसम्मत हुन कांग्रेसले सघाएको तर उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।