काठमाडौं- मलेसियाको टिम मलेसिया सेक्रेटरी ११ टिमविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालको क्यान प्रेसिडेन्ट ११ टिमले जितेको छ। पहिलो खेल १ सय ३४ रनले जितेको नेपाली टिमले दोस्रो खेल १ सय ७२ रनले जितेको हो।
मंगलबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाली टिमले पूरा ५० ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसियाको टिमले २८.४ ओभरमा १ सय १८ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो।
नेपाली टिमका लागि किशोर महतो र ललित नारायण राजबंशीले तीन–तीन विकेट लिए। शुसन भारीले दुई साथै कमल सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए।
यसअघि पहिले ब्याटिङमा गरेको नेपालका लागि ओपनिङमा आएका सुनिल धमलाले ३३ बलमा २४ रन साथै सुवास खकुरेलले ७७ बलमा ४८ रन बनाएका थिए।
४७ बलमा ५४ रन बनाउँदै कप्तान ज्ञानेन्द्र मल्ल र ५४ बलमा ५७ रन बनाउँदै रोहित कुमार पौडेल रिटायर्ड आउट भएका थिए। लोकेश बमले २८ बलमा ३४ रन, बिनोद भण्डारीले २१ बलमा २१ रन, पवन सर्राफले १७ बलमा १२ रन र सुसन भारीले १५ बलमा १६ रन बनाएका थिए।
सिरिजको तेस्रो खेल बिहीबार पोखरा रंगशालामा नै हुनेछ।
नेपालले आउँदो २२ देखि २९ गतेसम्म आइसिसी विश्व कप क्रिकेट लिग–टु अन्तर्गत ओमान र अमेरिकासँग त्रिवी क्रिकेट मैदानमा त्रिदेशीय सिरिज खेल्दैछ। त्यसैको तयारीका लागि टिम अहिले पोखरामा अभ्यासमा रहेको हो।
लिग–टु सन् २०२३ मा आयोजना हुने विश्वकपको छनोट गर्ने माध्यम भएकाले ओमान र अमेरिकाविरुद्धको सिरिजको विशेष महत्व रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।