काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले विराटनगरमा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) तथा नुवाकाेट र गाेरखामा पुनर्निमित आवास घरहरूकाे भिडियाेमार्फत् संयुक्तरूपमा उद्घाटन गरेका छन्।
उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी माेदीलाई नेपाल भ्रमणकाे निम्ताे दिएका छन्।
२००६ मा भारतसँग एकीकृत जाँचचौकी निर्माणका लागि सम्झौता भएको थियो। यो भन्सार जाँचचौकी भारत सराकारको पूर्ण अनुदान सहयोगमा बनाइएको हो। भन्सारसम्बन्धी सबै सेवा एकै ठाउँबाट उपलब्ध हुने भएकाले आयात निर्यातकर्तालाई सहज हुने, सवारी चाप घट्ने र राजस्व चुहावटमा पनि कमी आउने आँकलन गरिएको छ।
अत्याधुनिक क्वारेन्टाइनसमेत त्यहाँ रहेकाले नेपालबाट निर्यात हुने कृषि तथा पशुजन्य वस्तुको परिक्षणका लागि भारतको कोलकत्ता पुग्नुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ। यो भन्सार जाँच चौकी २९ बिघा जमिनमा फैलिएको छ। केही समय भित्रै भैरहवा र नेपालगंजमा पनि एकिकृत भन्सार जाँचचौकी निर्माण गर्ने लक्ष्य लिइएको छ।
गोरखा र नुवाकोटमा भूकम्पपछि भत्किएका ५० हजार आवासिय भवन निर्माणका लागि भारतले अनुदान सहयोग गरेको थियो। ती घरहरुको हस्तान्तरण पनि आजै गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।