जनकपुर- राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट अल्पसंख्यकका उम्मेदवार शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
नेपाली कांग्रेसले माघ ९ गते बिहीबार हुन लागेकाे निर्वाचनमा नेकपा–राजपाकाे तर्फबाट अल्पसंख्यकमा संयुक्त उम्मेदवार सिंहले कैद भुक्तान नगरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयम साेमबार उजुरी दिएको हो।
कांग्रेसबाट अल्पसंख्यकमा उम्मेदवारी दिएका भोला पजियारले सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन्। कुटपीट मुद्दामा सप्तरी जिल्ला अदालतबाट दुई वर्ष कैद र जरिवाना सजाय पाएकाले सिंह राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएको दाबी गर्दै पजियारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम मनोनयन खारेज गरी पाउँ भन्दै उजुरी दिएको बताए।
सप्तरीको कोइलाडी गाउँपालिका–४ बस्ने सिंहविरुद्ध २०४४ असार ३० गते कुटपिट तथा अंगभंग मुद्दामा जिल्ला अदालतबाट दुई वर्ष कैद सजाय तोकिएको थियो। सर्वोच्च अदालतको पूर्ण इजलाशले २०५६ पुस १ गते पुनरावेदनको हिस्सा नहुने अन्तिम आदेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।