काठमाडौं- बाहिरी व्यवहार सुधा तर भित्री राजनीतिक खेलका चतुर खेलाडी सुवास नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र समूहभित्रकै सदस्य हुन्। आफू निकटकालाई लाभको पदमा पुर्याउन सक्रिय भइरहने उनी त्यही छविले विवादबाट सधैं जोगिँदै आए।
पछिल्लो मन्त्रिपरिषद् विस्तारमा आफ्नो पक्षका बसन्त नेम्वाङलाई भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिलाउन सफल भए पनि मन्त्री चयनको विवादमा उनको नाम कतै जोडिएन।
कानुनी क्षेत्रका जानकार नेम्वाङको साथका कारण अग्नि खरेललाई महान्याधिवक्ताको यात्रा सहज भएको र अधिवक्ता हरि फुयाँल सर्वोच्चको न्यायाधीश बन्न पुगेकोमा नेकपाभित्रका धेरै नेताहरु जानकार छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहाकारका रुपमा अधिवक्ता बाबुराम दाहालको बालुवाटार प्रवेशमा पनि उनको महत्वपूर्ण भूमिका थियो नै।
त्यसैले बलात्कार प्रयासको अभियोगसँगै रिक्त भएको सभामुखको पदमा नेम्वाङ सकारात्मक हुँदा दोस्रो व्यक्तिको इन्ट्री असम्भव नै थियो। प्रधानमन्त्री केपी ओलीको साथ समेत उनैलाई भएकाले सभामुख यात्रा पक्कापक्की जस्तै थियो।
सम्भावित सभामुखको चर्चामा आफ्नो नाम आएपछि नेम्वाङले 'संसद् चलाउन सक्ने, सक्षम र नेतृत्वले उपयुक्त पात्रको चयन गर्ने’ अर्थपूर्ण टिप्पणी गरेका थिए।
यस बीचमा पूर्व माओवादी खेमाबाट अग्नि सापकोटा र देव गुरुङको नाम चर्चामा आएको आयो। नेम्वाङले पूर्व माओवादीप्रति लक्षित गर्दै गुरुङले आफूलाई आपत्ति नजनाउने र सापकोटाको मुद्दा विचाराधीन रहेको टिप्पणी गरेका थिए। उनको यो टिप्पणीले आफै उपयुक्त पात्र हुँ भन्ने नै देखाउथ्यो।
न्याय क्षेत्रमा सधैं पहुँच
नेम्वाङ एमाले हुँदा सधैं कानुन विभागमा पहुँच राख्थे। वरिष्ठ अधिवक्तासमेत रहेका उनी कुनै समय पायोनियर ल फर्मबाट वकालत गर्थे। उनीसँगै अग्नि खरेल र सर्वोच्च अदालतका न्याायाधीश हरिकृष्ण कार्की पनि वकालती पेसाका सहकर्मी थिए।
नेम्वाङसँगै खरेल पनि एमालेको राजनीतिमा सक्रिय भए। उनी संसदीय दलको सचेतक हुँदै कानुनमन्त्रीसम्म भए। कानुनमन्त्री भएका खरेल केपी ओली नेतृत्वको सरकारपछि सरकारको कानुनी सल्लाहाकार महान्यायाधिवक्ता बनेका थिए।
पार्टीभित्र नेम्वाङ्ग गुटमा रहेका उनीहरुकै योजना अनुसार अधिवक्ता हरि फुयाँल पनि सर्वोच्चको न्यायाधीश बने। कार्की र फुयाँल दुवै प्रधान न्यायाधीश हुने सम्भावनासहित सर्वोच्चमा भित्रन सफल हुनुका नेम्वाङको भुमिका मुख्य देखिन्छ।
नेम्वाङ प्रधानमन्त्री ओलीका संसद् र कानुनका भरपर्दा सल्लाहकार हुन्। त्यही कारण नै उनी संसदीय दलका उपनेता चयन भएका थिए। पहिलो संविधानसभाको अध्यक्षदेखि रुपान्तरित संसदको सभामुखसम्म भएका बेला नेम्वाङले ओलीलाई सहयोग गर्दै आएका थिए। नेकपाभित्रको समीकरणमा प्रधानमन्त्री ओलीले पत्याएकाहरू बलिया हुने नै भए। नेम्वाङ पनि बलियै थिए।
तर पछारिए नेम्वाङ
प्रधानमन्त्रीको साथ, संविधानसभाको अध्यक्षका रूपमा प्रतिपक्षीलाई मनाउन सक्ने खुबी, आन्तरिक राजनीतिमा पनि कमैलाई चिढ्याएको पृष्ठभूमि सबैले उनलाई सभामुखका लागि निर्विकल्प उम्मेदवारका रूपमा प्रस्तुत गर्यो। उनी पनि ढुक्कै देखिन्थे सभामुख हुनेमा।
तर अनुभवी र बलियो हुँदाहुँदै पनि कहिलेकाँही नयाँ खेलाडीबाट पाका खेलाडीले माख खान्छन्। यस्तै भयो यो पाली नेम्वाङका लागि। पावर एक्सरसाइजमा अनुभवी र भद्र छविका नेम्वाङ सभामुखको रेसमा बलियो र अनुभवी हुँदाहुँदै पनि कमजोर आँकिएका अग्नि सापकोटाबाट माथ पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।