काठमाडौ– संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै बहिष्कारसम्मको चरणमा पुगेका महन्थ ठाकुरले त्यही संविधान अनुसार गठन भएको प्रतिनिधि सभा सञ्चालनको जिम्मेवारी पाए।
ठाकुरका लागि जुरेको यो दुर्लभ संयोग पहिलो हैन। यसअघि पनि उनले आफैं असहमत संविधानअनुसार वफादार भएर काम गर्ने सपथ खुवाइसकेका छन् प्रतिनिधि सभा सदस्यहरुलाई।
पहिलो पटक संविधानप्रति वफादार रहने सपथ खुवाएका उनै ठाकुरको काँधमा सभा सञ्चालन र नयाँ सभामुख चयनको प्रकृया अगाडि बढाउने जिम्मेवारी आइलाग्यो सोमबार।
२०७४ फागुन २० मा उनले प्रतिनिधि सभामा सदस्यहरुलाई संविधानप्रति वफादार हुने सपथ खुवाएका ठाकुरले २०७६ माघ ६ मा सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिए।
प्रतिनिधि सभामा कायम संसदमध्ये सवैभन्दा जेठो सदस्य भएकाले सभा सञ्चालनको जिम्मेवारी उनको काँधमा पटक पटक आएको हो। संविधानप्रति उनी सहमत छैनन्। तर संविधान अनुसार आएको जिम्मेवारी वहन गर्न उनले आनाकानी भने गर्ने गरेका छैनन्।
दोहोरो भूमिकामा ठाकुर
मूलधारको नेपाली कांग्रेस त्यागेर क्षेत्रीय राजनीतिमा होमिएका ठाकुर त्यस्ता नेता हुन् जाे वर्तमान संविधानप्रति असहमति राख्दै पटक–पटक आन्दोलनमा होमिइसकेका छन्।
संविधान जारी भएलगत्तै ठाकुर र उनका सहयोगी दल लामो मधेस आन्दोलनमा होमिए। १ सय ३७ दिने लामो भारतीय नाकाबन्दीको सहयोगी बन्दै ‘अहिले नभए कहिल्यै हुँदैन’ भन्दै मधेसमाथि ‘संकटकालीन’ स्थिति सिर्जना गरेका थिए कुनै बेला उनले।
दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए पनि ठाकुर मधेसकेन्द्रित राजनीतिको केन्द्रविन्दुमा रहँदै आएका छन्। नेपालको संविधान संशोधनको पक्षमा वकालत गर्दै आएको उनको पार्टी राष्ट्रिय जनता पार्टीका निर्णयहरु पनि उनको छवी झैं दोहोरो छ।
प्रारम्भमा संविधान संशोधनको विपक्षमा रहेको भन्दै नेकपाको विरोध गर्दै आए पनि उनको दलले नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारलाई समर्थन गरेको थियो। ओली नेतृत्वको सरकारलाई समर्थन गरेर दुई तिहाइ बनाइदिएको उनको दल केही मुद्दामा सरकारले अटेर गरेको भन्दै सर्मथनबाट पछि हटे पनि नेकपासँगको सहकार्य भने अझै जारी नै रहेको राष्ट्रिय सभाको निर्वाचनमा नेकपालाई समर्थन गर्ने निर्णयले देखाउँछ। उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि अहिले उनको दल सत्ताधारी दलसँग निकै निकट देखिन्छ।
ठाकुरसहित मधेसकेन्द्रित दलका नेताको बोली एकातिर देखिए पनि व्यवहारले उनीहरु संविधानलाई स्वीकारिसकेको देखिन्छ नै। भन्न त उनीहरु भन्छन् ‘ संविधान संशोधनको हाम्रो माग कायमै छ।’
उनीहरुको माग पूरा होला कि नहोला तर एउटा राजनीतिक चित्र भने प्रष्ट देखिन्छ ‘अब ठाकुर सहितका मधेसकेन्द्रित दल नेपालको संविधानको फ्रेमबाट बाहिर जान भने सक्दैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।