काठमाडौ- प्रतिनिधिसभा सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुखको निर्वाचन माघ १२ गते गर्ने घोषणा गरेको हो।
जेष्ठ सदस्यको हैसियतले राजपाका नेता महन्थ ठाकुरले प्रतिनिधि सभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन्।
सभामुखको कार्यतालिका सार्वजनिक गर्न उनले संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए।
दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकले नयाँ सभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो।
संसद बैठकले निर्देशन दिएपछि महासचिव भट्टराईले औपचारिक रुपमा सभामुख चयनको कार्यतालिका सार्वजनिक सूचना जारी गर्ने तयारी गरेका छन्।
सोमबारको बैठक सञ्चालन गर्न ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले राष्ट्रपतिवाट सपथ लिएका थिए।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ।
नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ। बाँकी दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।