काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्यहरुलाई मिल्लेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)बारे ‘ब्रिफिङ’ गरेका छन्।
सोमबार नेकपाको राष्ट्रिय सभाको संसदीय दलको बैठकमा ज्ञवालीले ब्रिफिङ गर्दै अहिले निकै विवादित बनिरहेको अमेरिकी सहयोग निकाय एमसिसीबारे जानकारी गराएका हुन्।
नेकपा नेता एवं राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मन्त्री ज्ञवालीले सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म आफूहरुलाई एमसिसीबारे ब्रिफिङ गरेको बताए।
उनका अनुसार मन्त्री ज्ञवालीले एमसिसी नेपाल आफैंले पहल गरेर ल्याएकाले यो नेपालको विकासका लागि उपयोगी हुने बताएका थिए।
‘नेपाल कुनै सैन्य गठबन्धनमा नलाग्ने र एमसिसी इन्डो प्यासेफिक स्ट्राटेजीअन्तर्गत नभएको कुरा राख्नुभयो,’ मन्त्री ज्ञवालीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘नबुझेर पनि कतिपयले एमसिसीको विरोध गरेको उहाँले हामीलाई भन्नुभयो।’
नेपालले एमसिसीका लागि अन्तरदेशीय प्रसारण लाइन र सडक आयोजना छनोट गरेको जानकारी मन्त्री ज्ञवालीले विद्युत प्रसारण लाइनले भारतको भूमि पनि हुने भएकाले उसको सहमति लिनुपर्ने कुरा सम्झौतामा उल्लेख गरेको बताएका थिए।
एमसिसीबारे आफ्नै पार्टीका नेताहरुबीच फरक बुझाइ भए पनि यो संसदबाट अनुमोदन हुने मन्त्री ज्ञवालीले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।