काठमाडौं- प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कुटनीतिक भाषा प्रयोग गरी राजीनामाको घोषणा गरेकी उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले दलको निर्देशन अटेर गरी प्रणालीको लडाइँ जितेको तर पितृसत्तासँग भने हार खाएको बताएकी छन्।
सदनमा सम्बोधनपछि बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै डा तुम्बाहाङ्फेले यस्तो बताएकी हुन्।
आफू दलकाे नभई प्रतिनिधिसभाको उपसभामुख भएकाले आफूले दलको निर्णय अटेर गरेको उनको दाबी थियो। तर दलहरुले आफूसँग राजीनामाका लागि आग्रह नगरेकाले पनि आफूले अटेर गरेको उनको भनाइ छ। 'आग्रह गरेकाे भए मान्थें। तर पार्टीले आफूलाई दलको मात्र उपसभामुखको व्यवहार गर्यो।'
संविधानले नेतृत्वबिहीन प्रतिनिधिसभाको कल्पना नगरेकाले पनि आफूले राजीनामा दिन आवश्यक नरहेको ठम्याएको उनको भनाइ छ। 'संविधानले नेतृत्वविहीन परिकल्पना गरेकाे छैन। नेताले भनेकाे आधारमा हाेइन, संविधान अनुसार चलें।
मैले नेकपा नेताकाे निर्देशन मानेकाे भए नागरिकले औला उठाउँथे।'
तर आफूले एउटा लडाइँ लडेको उनको दाबी थियो। 'मैले एउटा लडाइँ लडेँ। लडाइँ मेराे प्रिय शब्द हाे। आजका मितिसम्म लडें। कुनै दलले निर्देशन दिँदैमा संवैधानिक अंगकाे प्रमुखले छाड्ने हाेइन भन्ने विषय स्थापित गरें। म खुशी छु। संस्थालाई प्रणाली अनुसार चलाउन सकें। संस्थालाई दलीय प्रभावबाट जाेगाउन सकें। मैले बाजी मारें।'
'पितृसत्ता संस्थागत भएको छ। यसलाई परिवर्तन गर्न समय लाग्ने रहेछ। तर पितृसत्तासँग सकिनँ,' उनले भनिन्।
'पाँच वर्षको लागि चुनिएको उपसभामुख पद दुई वर्षमा छाडें। मेराे करियरका लागि लाभ भएको छ। एकै ठाउँमा पाँच वर्ष समय खेर फालिनँ। आजदेखि नयाँ काम अघि बढाउने छु,' उनले कुराकानी अन्त्य गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।