काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा नयाँ प्रशिक्षक क्विके सेटियन आफ्नो डेब्यू खेलमा जित निकाल्न सफल भएका छन्। ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई १–० ले हराएको हो।
जितसँगै बार्सिलोना पुनः लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ। खेलभर बार्सिलोनाले बलमा नियन्त्रण बनाए पनि केही राम्रा अवसरहरु भने खेर गइरहेको थियो। ७६औं मिनेटमा कप्तान लियोनल मेस्सीले गरेको गोल टिमको जितमा पर्याप्त बन्यो।
‘टिकी टाका’ शैलीमा फर्किएको बार्सिलोनाको खेलमा ८३ प्रतिशत समय बलमा नियन्त्रण बनाउन बार्सिलोना सफल भयो। खेलभर डिफेन्सिभ बन्न बाध्य ग्रानडाका सान्चेज दोहोरो पहेँलो कार्ड पाउँदै ६९औँ मिनेटमा बाहिरिएपछि दबाब बढेको थियो।
बलमा निरन्तर नियन्त्रण बनाए पनि बार्सिलोना गोलमा भने राम्ररी बढ्न सकेन। लुइस स्वारेज र उसमान डेम्बेले जस्ता स्ट्राइकर घाइते रहेकाले प्रशिक्षक सेटियनले अन्सु फातीलाई मौका दिएका थिए। तर उनले केही राम्रा गोलका अवसर खेर फाल्न पुगे।
३–४–३ को शैलीमा खेलेको बार्सिलोनाको मिडफिल्डमा सर्जियो बुस्केट्स र आर्टुरो भिडालको प्रदर्शन राम्रो रह्यो।
बार्सिलोनामा एक समय बल नियन्त्रण गराएर खेलाउन माहिर प्रशिक्षक पेप गार्डिओलाको शैलीमा प्रशिक्षक सेटियनको रणनीति देखिएको थियो। जोहान क्रुफको शैली मन पराउने सेटियनले भालभर्देले छाडेको बार्सिलोनामा एकै खेलमा केही परिवर्तनहरु भने देखाए।
बार्सिलोनाले १ हजार ५ पासमा ९ सय २१ पास सही रुपमा खेलेको थियो। जुन गार्डिओलाको समयपछि सबैभन्दा राम्रो पास हो। यसैले खेलपछि बुस्केट्सले भनेका छन्– ‘यो सिजन हामी सबै उपाधि जित्न सक्षम छौँ।’
‘भालभर्दे र सेटियनबीच तुलना गर्न खोजेको त होइन। हरेक प्रशिक्षकको फुटबललाई हेर्ने नजर आफ्नो नै हुन्छ। प्रशिक्षकले भनेअनुसार नै हामीले खेल्ने हो, अहिले त्यो कुरा सकरात्मक देखिएको छ’ बुस्केट्सले भनेका छन्।
लिगमा २० औँ चरणका खेल सकिँदा बार्सिलोना र रियल मड्रिड दुवैको समान ४३ अंक छ। गोल भिन्नताका आधारमा बार्सिलोनामा शीर्ष स्थानमा रहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।